काठमाडौं– फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) नयाँ ढाँचाको क्लब विश्वकपको घोषणा गरेको छ।जसमा ६ महादेशका ३२ टोली सहभागी हुने फिफाले जनाएको छ।
अध्यक्ष जियानी इन्फान्टिनोले कतारमा विश्वकप फुटबलको फाइनल खेलअघिको पत्रकार सम्मेलनमा नयाँ ढाँचाको विश्वकपको घोषणा गरेका हुन्।

सो कार्यक्रममा उनले ३२ टोली सहभागी हुने पुरुष क्लब विश्वकप सन् २०२५ मा हुने घोषणा गरे।
क्लब विश्वकपको नयाँ ढाँचा यसअघि नै तयार भएको थियो। तर, २०१९ को अन्त्यतिर चीनबाट सुरु भएको कोराना भाइरस महामारीका कारण फिफाले यो कार्यक्रम स्थगित गरेको थियो।
क्लब विश्वकपको नयाँ ढाँचालाई युरोपका ठूला क्लबले भने अस्वीकार गरिरहेका छन्। यसबीच, अध्यक्ष इन्फान्टिनोले नयाँ क्लब विश्वकपको कार्यक्रम घोषणा गरेका हुन्।
उनले दिएको जानकारीअनुसार अब हरेक चार वर्षमा ३२ टोली सहभागी हुने क्लब विश्वकप हुनेछ। विश्वका उत्कृष्ट क्लब टिमलाई आमन्त्रण गरिने यस प्रतियोगिताको पहिला संस्करण २०२५ मा हुनेछ।
यसअघि पनि फिफाले सबै महादेशका उत्कृष्ट ७ टिमलाई सहभागी बनाएर क्लब विश्वकपको आयोजना गर्दै आएको थियो। यो हरेक वर्ष हुने गथ्र्यो। पछिल्लोपटक यसको उपाधि चेल्सीले जितेको छ।
यस्तै, फिफाले ३२ टोली सहभागी महिला विश्वकपको समेत तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।