काठमाडौं– डिफेन्डिङ च्याम्पियन फ्रान्सले कतार विश्वकपको दोस्रो सेमिफाइनलमा अफ्रिकी राष्ट्र मोरक्कोविरूद्ध पहिलो हाफमा १–० गोलको अग्रता बनाएको छ।
फ्रान्सका लागि पहिलो अग्रता डिफेन्डर थिओ हर्नान्डेजले दिलाए। उनले डिबक्सभित्र मोरक्कन डिफेन्डरले क्लियर गर्न नसकेको बललाई उत्कृष्ट ढंगले ५ मिनेटभित्र गोलमा परिणत गरेका थिए।
बुधबार रातीको खेलमा चोटग्रस्त कप्तान रोमान साइसलाई सुरुवातमै उतार्नु मोरक्कोका लागि दुर्भाग्य सावित भयो। उनले डिफेन्समा खासै केही गर्न सकेनन्। त्यसैले २१ मिनेटमा बाहिर निकाल्नु पर्यो। साइस पोर्चुगलविरूद्धको खेलमा घाइते भएका थिए। उनी राम्रोसँग अभ्याससत्रमा पनि फर्किएका थिएनन्। तर, प्रशिक्षक रिग्रागीले उनलाई उतारेर जुवा खेले
मोरक्कोले गोल फर्काउन दुई पल्ट प्रयास गरेको थियो। १० मिनेटमा ओजादिन ओनाइको उत्कृष्ट प्रहार फ्रान्सका अनुभवी गोलकिपर ह्युगो लोरिसले निस्तेज पारे। ४४ मिनेटमा प्राप्त कर्नर किकमा पनि मोरक्कोले गोलको प्रयास गरेको थियो।
डिबक्स भित्रबाट जवाद अल यामिकले हानेको बाइसाइक्लिङ किक पोलमा ठोक्किएर फर्किएको थियो।
यसअघि फ्रान्सले खेललाई आफ्नो नियन्त्रणमा राखेको थियो। ३५ मिनेटमा केलियन एमबाप्पे र ओलिभर जिरुड गोलको अवसरबाट चुकेका थिए।
मोरक्कोले जारी विश्वकपमा पहिलो पल्ट विपक्षी टोलीबाट गोल खाएको हो। यसअघि ५ वटा खेलमा उसले विपक्षी देशबाट गोल खाएको थिएन। क्यानडाविरूद्ध खाएको एउटा गोल आत्मघाती थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।