दोहा– क्रोएसियालाई सेमिफाइनलमा ३–० गोलले पराजित गरेपछि अर्जेन्टिनी खेलाडीहरूले एक पल्ट फेरि फकल्याण्ड युद्धको विगत सम्झिएका छन्।
जितपछि ड्रेसिङ रुममा फर्किएका विजेता अर्जेन्टिनी खेलाडीले फकल्याण्ड युद्धको सन्दर्भमा बनाइएको गीत गाए।
ड्रेसिङ रुमबाट सार्वजनिक भएको दृश्यमा लिओनल मेसीलगायत अन्य खेलाडीले खुसीयाली मनाउन टिसर्ट फुकालेका थिए।
कतार विश्वकपका लागि अर्जेन्टिनाले राष्ट्रियताले ओतप्रोत नयाँ गीत बनाएको थियो। जसमा युद्धको ब्यथा र बेलायतको दादागिरीको विषयमा उल्लेख छ। यो गीत अहिले अर्जेन्टिनी दर्शकमाझ निकै लोकप्रिय छ।
गीतमा एउटा वाक्य छ– ‘इङ्लिस पुटोस् डे माल्भिनास नो मी ओल्भिदो’ । जसलाई अंग्रेजीमा फकल्याण्ड्समा बेलायती घुसपेठलाई गाली गर्दै हामीले बिर्सिएका छैनौं भनिएको छ।

अंग्रेजीमा ‘पुटोस्’ शब्दको अर्थ कायर पनि हुन्छ। त्यसैले गीतमा ‘लास माल्भिनास’ (फकल्याण्डको स्पेनिस नाम) मा बेलायतीहरूको कायरपूर्ण कार्यवाहीको रूपमा पनि यसलाई अर्थ्याइएको हुनसक्ने बेलायती अखबारहरूले अड्कल काटेका छन्।
अर्जेन्टिनी टिमका डिफेन्डर निकोलास ओटामेन्डीले जितपछि खुसीयाली मनाउदै गरेको भिडियो इन्स्टामा सेयर गरेका थिए। यसमा बेलायती क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्ने लिसान्द्रो मार्टिनेज र म्यानचेस्टर सिटीका गोलकिपर जुलियान अल्भारेज पनि गीत गाउदै गरेको देखिएका छन्।
गीतमा कोपा अमेरिकाको सन्दर्भ प्रस्तुत गर्ने क्रममा ब्राजिलको नाम पनि उल्लेख छ। गीतको बोलमा भनिएको छ–
ब्राजिलीहरू, के भयो?
पाँच पल्टको च्याम्पियन बिग्रियो।
मेसी रियो गए र कप लिएर आए।
हामी अर्जेन्टिनी ब्याण्ड हौं र हामी सधैं उनीहरूलाई उत्साहित तुल्याउने छौं।
किनभने हामीसँग विश्व च्याम्पियन बन्ने सपना छ।
म यस्तै छु। म अर्जेन्टिनी हुँ।
फकल्याण्डमा अंग्रेजी बोल्छु, म बिर्सिन्नँ।
म यस्तै छु, म तपाईलाई प्रोत्साहन गर्छु।
म अर्जेन्टिनालाई सबैतिर फलो गर्छु।
गीतको सुरुवात नै सन् २०२१ मा अर्जेन्टिनाले जितेको कोपा अमेरिकाको सन्दर्भलाई उप्काइएकाे छ।
फकल्याण्ड टापुलाई लिएर अहिले पनि अर्जेन्टिना र बेलायतको सम्बन्ध चिसिएको अवस्था छ। अर्जेन्टिनाले सन् १८३३ देखि नै आफ्नो नजिकै रहेको फकल्याण्ड टापुलाई देशको हिस्सा मान्छ। तर, यहाँ बेलायतको आधिपत्य छ।
अर्जेन्टिनाले सन् १८१६ मा स्पेनबाट फकल्याण्ड टापु आफूले प्राप्त गरेको दावी गर्दै आइरहेको छ। सन् १९८२ मा यही टापुलाई लिएर बेलायत र अर्जेन्टिनी सेनाबीच युद्ध भएको थियो।
मार्गरेट थ्याचरको प्रधानमन्त्रीकालमा भएको यो युद्ध लड्न बेलायतले गोर्खाली सेनालाई माल्भिनास पठाएको थियो। गोर्खाली सेनाले नै युद्ध जितेर फकल्याण्डलाई बेलायतको अधिनमा ल्याएका थिए।
अर्जेन्टिनी फ्यानहरू कतारमा अहिले अर्को गीत पनि गाउदै आइरहेका छन्। जसमा अंग्रेज र फकल्याण्ड युद्ध दुवैलाई सन्दर्भ बनाइएको छ।
उनीहरूले गीतमा अंग्रेजहरूलाई आफूले जतात्यतै लखेटेको उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।