ब्युनोस आयर्स– लिओनल मेसी र उनको टिम मंगलबार राती विश्वकपको फाइनल प्रवेश गरेको क्षणको उत्सव मनाउन अर्जेन्टिनी समर्थकहरूको राजधानी ब्युनोस आयर्समा ऐतिहासिक भिड जम्मा भएको छ।
ला अल्बिसेलेत्से क्रोएसियालाई ३–० गोलले पराजित गर्ने क्रममा छैटौं पल्ट फाइनल प्रवेश गर्यो। कतारको लुसिल रंगशालामा भएको खेलमा जितको नायक मेसी र जुलियान अल्भारेज बनेका थिए।
मेसीले पेनाल्टीमार्फत पहिलो गोल गरेपछि अल्भारेजलाई गोलका लागि मौका मिलाएका थिए। अल्भारेजले दुई गोल गरे।
म्यानचेस्टर सिटीका फरवार्ड अल्भारेजले मेसीका लागि पेनाल्टीको अवसर जुराएका थिए, जब उनलाई ३२ मिनेटमा क्रोएसियाली गोलरक्षकले डिबक्सभित्र लडाए।

आफ्नो देशको जितको उत्सव मनाउन लामो समयपछि हजारौंको संख्यामा जनताहरू राजधानी ब्युनोज आयर्सको मुटुमा रहेको प्लाजा डे ला रिपब्लिका भन्ने ठाउँमा जमघट भएका थिए।
उनीहरू त्यहाँ नाचे र मेसी तथा म्याराडोनाको प्रसिद्धिमा गीत गाए। मेसी क्रोएसियाविरूद्ध गोल गर्दै विश्वकपमा आफ्नो देशका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने। आफ्ना अग्रज गाब्रियल बाटिस्टुटाले विश्वकपमा बनाएको १० गोलको कीर्तिमानलाई उछिन्दै उनी ११ गोल गर्न सफल भए।
३५ वर्षीय मेसीले कतारमा जारी विश्वकप आफ्नो अन्तिम भएको घोषणा गरिसकेका छन्। त्यसैले अहिले विश्वभरिका उनका समर्थकलाई मात्र होइन, अर्जेन्टिनाको हरेक गल्ली र चोकमा उनको प्रदर्शनलाई लिएर जनचासो बढेको छ।

मंगलबारको जितपछि मेसीको पोस्टर र मास्क लगाएर समर्थकहरू बाटोमा उत्रिएका थिए। उनीहरूले अर्जेन्टिनाको झण्डा बोकेका थिए। कति जना डिएगो म्याराडोनाको फोटोकपि गर्दै हिँडिरहेको भेटिन्थे।
म्याराडोनाको नेतृत्वमा अर्जेन्टिनाले १९८६ मा विश्वकपको उपाधि जितेयता अर्जेन्टिना उपाधि बिहिन छ। मेसीको नेतृत्वमा २०१४ मा फाइनल पुगे पनि अर्जेन्टिना जर्मनीसँग निर्धारित समयपछि थप गरिएको समयमा १–० गोलले पराजित भएको थियो।
अर्जेन्टिनाले बुधबार राती फ्रान्स र मोरक्कोबीचको खेलमा जित्ने टिमसँग फाइनल खेल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।