काठमाडौं– लिओनल मेसीकाे उत्कृष्ट प्रदर्शन तथा जुलियान अल्भारेजकाे २ गाेलकाे सहयाेगले क्राेएसियाविरुद्ध गत विश्वकपकाे पराजयकाे बदला लिँदै अर्जेन्टिना छैटौं पल्ट विश्वकपकाे फाइनल प्रवेश गरेकाे छ।
मंगलबार राती सम्पन्न खेलमा ३४ मिनेटमा लिओनल मेसीले पेनाल्टीमार्फत गाेल गर्दै टिमलाई अग्रता दिलाएका थिए। बाँकी दुई गाेल अल्भारेजले गर्दा मेसीकाे पास महत्वपूर्ण रह्याे।
अर्जेन्टिनाले ३–० गाेल अन्तरले क्राेएसियालाई पराजित गरेकाे हाे। रुसमा चार वर्षअघि भएकाे विश्वकपमा अर्जेन्टिना ३–० गाेल अन्तरले नै क्राेएसियासँग पराजित भएकाे थियाे।
कतारमा सम्पन्न पहिलाे सेमिफाइनलमा मेसीले ३९ मिनेटमा हाफ नजिकैबाट दिएकाे लामाे पासमा अलभारेजले उत्कृष्ट गाेल गरेका थिए। अर्जेन्टिनाले पहिलाे हाफमा २–० गाेलकाे अग्रता बनाएकाे थियाे।
तीन स्ट्राइकरसहित आक्रामक रुपमा प्रस्तुत भएकाे क्राेएसियाले सुरुकाे १५ मिनेट अर्जेन्टिनालाई हम्मेहम्मे बनाएकाे थियाे। तर उसले अर्जेन्टिनी पाेस्टमा कुनै सटिक प्रहार गर्न सकेन।
२५ मिनेटपछि खेललाई आफ्नाे नियन्त्रणमा ल्याएकाे अर्जेन्टिनाले ५ मिनेटभित्र दुई गाेल गरेकाे थियाे।
अर्जेन्टिनाका लागि तेस्राे गाेल पनि अल्भारेजले गरे। उनले ६९ मिनेटमा मेसीले कर्नर लाइनबाट मिलाइदिएकाे पासमा गाेल गरेका थिए। अल्भारेजकाे याे विश्वकपमा चाैथाे गाेल थियाे।
मेसीले भने विश्वकपमा पाँच गाेल पुरा गरेका छन्। उनी जारी विश्वकपमा सर्वाधिक गाेल गर्ने फ्रान्सका केलियन एमबाप्पेकाे बराबरीमा पुगेका छन्। एमबाप्पेले पनि जारी विश्वकपमा ५ गाेल गरिसकेका छन्।
मेसी आफ्नाे देशका लागि विश्वकपमा सर्वाधिक गाेल गर्ने खेलाडी पनि बनेका छन्। उनले विश्वकपमा ११ गाेल पुरा गरेका छन्। यसअघि गाब्रियल बाटिस्टुटाले सर्वाधिक १० गाेल गरेका थिए।
मेसीले मंगलबारकाे खेलमा गाेलका लागि दुई वटा कडा प्रहार गरेका थिए। जसलाई क्राेएसियाली गाेलरक्षकले जाेगाए। क्राेएसियाले अर्जेन्टिनी पाेस्टमा त्यति सशक्त प्रहार गर्न सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।