काठमाडौं– धेरै समानताले भरिएका विश्व फुटबलको उत्कृष्ट दुई खेलाडी मंगलबार राति एकअर्कामा आमनेसामने हुँदैछन्। ती दुई खेलाडी हुन्– एलएम १०।
एलएम अर्थात् लियोनल मेस्सी र लुका मोड्रिच। दुवैको जर्सी नम्बर पनि १०। बार्सिलोनामा रहँदासम्म मेस्सीले क्बलमा पनि १० नम्बरकै जर्सी लगाउँथे। पीएसजी गएपछि भने मेस्सीले ३० नम्बर जर्सी लगाए। मोड्रिच भने क्लबमा १० नम्बरकै जर्सी लगाउँछन्। विश्वकपमा मोड्रिचले १० नम्बरकै जर्सी लगाएका छन् भने मेस्सीले भने १० नम्बरकै जर्सी लगाएका छन्।
यतिमात्रै होइन यी दुई खेलाडीबीच धेरै समानता छ।
कप्तान
यी दुवै खेलाडी कप्तान हुन्। मेस्सीले अर्जेन्टिनाको कप्तानी गरेर मैदानमा उत्रँदैछन् भने मोड्रिच क्रोएसियाको कप्तानी गरेर। यी दुईबीच अर्को पनि समानता छ–उनीहरु निकै ‘कुल’ स्वभावका छन्।
बालोन डिओर विजेता
दुवै खेलाडी उत्कृष्ट रहेको भन्ने कुरामा दुई मत छैन। यसलाई बालोन डिओरले समेत पुष्टि गरेको छ। खेलाडीको व्यक्तिगत प्रर्दशन उत्कृष्ट रहेको मापन बालोन डिओरलाई पनि लिने गरिन्छ। प्रतिष्ठत बालोन डिओर अवार्डबाट दुवै खेलाडी सम्मानित भएका छन्।
दुवै विश्वपक उपविजेता
यी दुईले अहिलेसम्म विश्वकप उपविजेतामा चित्त बुझाउनु परेको छ। सन् २०१८ मा रुसमा भएको विश्वकपमा मोड्रिचको देश उपविजेता भएर चित्त बुझाएको थियो। त्यतिबेला फ्रान्सले क्रोएसियालाई हराएर ट्रफी उचालेको थियो।
त्यसभन्दा अघिको सन् २०१४ को विश्वकपमा मेस्सीको देश अर्जेन्टिनाले उपविजेता भएर चित्त बुझाएको थियो। अर्जेन्टिनालाई भने जर्मनीले हराएर विश्वकपको ट्रफी उचालेको थियो।
सम्भवत: अन्तिम विश्वकप
सम्भवत: यी दुवै खेलाडीको यो नै अन्तिम विश्वकप हो। मेस्सी ३५ वर्षका भए भने मोड्रिच ३७ वर्षका भएका छन्। जसकारण उमेरलाई र उनीहरुको भनाइलाई आधार मान्दा यी दुवै खेलाडीका लागि कतार विश्वकप नै अन्तिम विश्वकप हुने देखिन्छ।
दुवै ट्राइब्रेकरमा जितेर सेमिफाइनल
यी दुवै टिमले जारी विश्वकपको क्वाटरफाइनलमा टाइब्रेकरमा जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेका हुन्। निर्धारितपछि थप गरिएको ३० मिनेटसम्म नेदरल्याण्ड्सँग अर्जेन्टिनाले २–२ को बराबरी गरेपछि टाइब्रेकरमा जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो।
क्रोएसिया पनि ब्राजिलसँग निर्धारित र थप गरिएको ३० मिनेटसम्म १–१ को बराबरी खेलेपछि टाइब्रेकरमा ब्राजिललाई पछि पार्दै सेमिफाइनलको यात्रा तय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।