काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहले मंगलबार राति हुन गइरहेको विश्वकप सेमिफाइलबारे प्रक्षेपण गरेका छन्।
नेपाल लाइभकर्मी नवीन अर्यालसँगको कुराकानीमा उनले कप्तान लियोनल मेसीसहित अर्जेन्टिनामा स्टार खेलाडीहरूको बाहुल्यता रहेकाले उनीहरूले सकेसम्म यो खेल ९० मिनेटमै जित्न खोज्ने बताए।
‘अर्जेन्टिना लामो इतिहास भएको टोली हो। हिजो म्याराडोना थिए आज मेसी छन्। यसर्थ, कतारका रंगशालामा ८० प्रतिशत दर्शक अर्जेन्टिनाका समर्थक हुने गर्छन्। उनीहरूलाई गृह मैदानमै खेलेको आभाष हुने गरेको छ। यस्तो वातावरणले अर्जेन्टिनालाई खेल्न सहज गराउँछ,’ उनले भने।
अन्तिम १६ को खेलमा घाइते भएका एंगेल डी मारिया सेमिफाइनलमा फर्किने भएकाले यसले अर्जेन्टिनाको आक्रमण धारिलो बनाउने र क्रोएसियाको डिफेन्सलाई एकपछि अर्को स्टार खेलाडीलाई ‘मार्क’ गर्नुपर्दा गाह्रो हुने उनको विश्लेषण छ।
तर, मार्कुस अगुइना र गोन्जालो मोन्टियलजस्ता डिफेन्स एक खेल प्रतिबन्धका कारण उपलब्ध नहुनाले अर्जेन्टिनालाई घाटा पर्ने उनको भनाइ छ।
पूर्वकप्तान सिंहले क्रोएसियाको टिम ‘ब्यालेन्स’मा रहेकाले उनीहरूले अर्जेन्टिनालाई टाइब्रेकरसम्म थकेल्ने सम्भावना रहेको पनि प्रक्षेपण गरे। यसो भएमा चाहिँ क्रोएसियाको पल्ला भारी हुने उनको भनाइ छ। खासगरी, क्रोएसियाको डिफेन्स बलियो रहेको उनको दाबी छ।
‘क्रोएसियासँग विश्वकपमा टाइब्रेकरको कीर्तिमान राम्रो छ। सन् २०१८ मा पनि डेनमार्क र रुसलाई पेनाल्टी सुटआउटमा जितेर क्रोएसिया सेमिफाइनल पुगेको थियो। पछि इंग्ल्याण्डसँगको खेल पनि अतिरिक्त समयमा लगेर जित्यो,’ उनले भने, ‘यो पटक पनि उसले जापान र ब्राजिलसँग गरी २ वटा टाइब्रेकरमा जितको छ। यसले गर्दा मनोबल उच्च छ।’
आजको खेलमा मेसी अर्जेन्टिनाका लागि सधैँ झै निर्णायक हुनेसक्ने उनको भनाइ छ। साथै, क्रोएसियाका कप्तान लुका मोड्रिचले पनि उत्कृष्ट खेल देखाइरहेको र त्यो सेमिफाइनलमा पनि कायम हुने उनले बताए।
अर्जेन्टिनाको आक्रमण र मिडफिल्ड दुवै मेसीमा निर्भर रहेको तर क्रोएसियाको मिडफिल्ड संगठित र अनुभवी रहेको उनले बताए।
पूर्वगोलकिपर र प्रशिक्षकसमेत रहेका सिंहले दुवै टोलीका गोलकिपर उत्कृट रहेको बताउँदै भने, ‘खेल टाइब्रेकरमा गयो भने को सर्वोत्कृष्ट हुन्छ भन्ने प्रतिस्पर्धा हुनेछ।’
जर्मनीका समर्थक रहेका सिंहलाई मनपर्ने गोलकिपर भने सोही देशका म्यानुअल नोयर हुन्। यो पटक जर्मनी भने समूह चरणबाटै बाहिरिसकेको छ।
हेरौं भिडियोः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।