दाेहा– लिओनल मेसीसहित १८ जनालाई पहेंलो कार्ड देखाएर विश्वकपकाे एकै खेलमा सर्वाधिक कार्ड देखाउने कीर्तिमान बनाएका स्पेनिस रेफ्री एन्टोनियो माटियु लाहोजलाई विश्व फुटबल महासंघ (फिफा) ले बाँकी खेलमा जिम्मेवारी नदिने भएको छ।
कतारमा जारी विश्वकपअन्तर्गत अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वार्टरफाइनल खेल खेलाउने क्रममा रेफ्री एन्टोनियोले खेलाडी र अफिसियललाई गरी खेल अवधिभर १७ वटा पहेंलो र नेदरल्यान्ड्सका डेन्जल डम्फ्रिजलाई दोहोरो पहेँलो गरी एक रातो कार्ड देखाएका थिए।
उनकाे भूमिकालाई लिएर मेसीले असन्तुष्टी जाहेर गरेका थिए। फिफाले जिम्मेवारीबाट मुक्त गरेपछि उनी घर फर्किएका छन्।
याे खेलमा अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा ४–३ गाेलले नेदरल्याण्ड्सलाई पराजित गर्दै सेमिफाइनलकाे यात्रा तय गरेकाे थियाे। निर्धारित अवधिकाे खेल २–२ गाेलकाे बराबरीमा टुंगिएपछि खेल पेनाल्टीमा पुगेकाे थियाे।
मेसीले एन्टाेनियाेकाे निर्णयकाे आलाेचना गर्दै ठूलाे प्रतिस्पर्धामा उनी जस्ताे रेफ्रिलाई फिफाले भूमिका दिन नहुने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।