दोहा– क्रिस्टियानो रोनाल्डोकी प्रेमिका जर्जिना रोड्रिगेजले विश्वकपको क्वाटर फाइनलबाट बाहिरिनुको कारण प्रशिक्षक फेर्नान्डो सान्तोस रहेको बताएकी छिन्।
कतारमा जारी विश्वकपमा पोर्चुगललाई १–० ले पराजित गर्दै शनिबार राती मोरक्को सेमिफाइनल प्रवेश गर्यो।
यस खेलमा रोनाल्डोलाई पुनः सुरुवाती एघारमा स्थान दिइएको थिएन। जर्जिनाले पोर्चुगल बाहिरिनुमा प्रशिक्षक सान्तोस जिम्मेवार रहेको बताइन्।
उनले रोनाल्डोको फोटोसहित एउटा सन्देश आफ्नो इन्स्टाग्राममा पोस्ट गर्दै लेखेकी छिन्, ‘आज तिम्रो साथी तथा प्रशिक्षकले गलत निर्णय गरे, जुन साथीको प्रसंसा र सम्मानमा तिमीले धेरै शब्द खर्चिएका थियौं।’

रोनाल्डोलाई गत मंगलबार स्विट्जरल्याण्डविरूद्धको प्रिक्वाटर फाइनलमा सान्तोसले पहिलो पल्ट सुरुवाती एघारबाट निकालेका थिए। त्यो खेलमा गोन्सालो रामोसको ह्याट्रिकको सहयोगले पोर्चुगलले ६–१ गोलको जित सम्भव तुल्याएको थियो।
मोरक्कोसँगको खेलमा पनि उनले पुरानै सेटलाई मैदान उतारे। तर, गोलकिपरको गल्तीले पहिलो हाफमै पोर्चुगलले गोल खायो। युसुफ एन– नासरीले विजयी गोल गरेका थिए।
दोस्रो हाफमा गोल फर्काउन सान्तोसले रोनाल्डोलाई मैदानमा प्रवेश गराए पनि सफल हुन सकेनन्।

रोनाल्डोकी प्रेमिकाले आफ्नो प्रेमीलाई सुरुदेखि नै मैदानमा नउतारेर सान्तोसले गल्ती गरेको बताइन्। उनले सान्तोसको प्रशिक्षणप्रति प्रश्न उठाउँदै लेखेकी छिन्, ‘जो यसको योग्य छैन, त्यसका लागि तिमी अडिग हुन सक्दैनौं। जीवनले पाठ सिकाएको छ। आज हामीले हारेका छैनौं, सिकेका छौं।’
३७ वर्षीय रोनाल्डोले दोस्रो हाफमा मैदान प्रवेश गरेपछि १० पल्ट मात्र बल छुने अवसर पाए। उनले गोलका लागि एउटा राम्रो अवसर प्राप्त गरेका थिए। तर, मोरक्कोका गोलरक्षकले जोगाए।
रोनाल्डोकी दिदी एल्मा अभेइरोले पोर्चुगलको पराजयमा दुःखी नहुन र गर्वले आफ्नो टाउको ठाडो पारेर फर्किन टिमका अन्य सदस्यलाई हौसला प्रदान गरेकी छिन्। उनले भनेकी छिन्, ‘भगवानलाई सबै थाहा छ। टिमको लागि दुःख छ तर यो समय शिर उठाएर अगाडि बढ्ने बेला हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।