काठमाडौं– नेदरल्याण्ड्स र अर्जेन्टिनाबीचकाे क्वाटर फाइनल खेल पनि पेनाल्टीमा पुगेकाे छ।
अतिरिक्त समयकाे खेल पनि २–२ गाेलकाे बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटबाट निर्णय हुने भएकाे हाे। अर्जेन्टिनाले ७३ मिनेटमा लिएको दुई गोलको अग्रतालाई नेदरल्याण्ड्सले २–२ गोलको बराबरीमा रोकेको थियो।
अर्जेन्टिनाका लागि नावेल मोलिनाले ३५ मिनेटमा लिओनल मेसीको पासमा गोल गरेका थिए। अर्जेन्टिनाले दोस्रो गोल मेसीको पेनाल्टीमा गरेको थियो। डिबक्सभित्र अकुनालाई लडाएपछि अर्जेन्टिनाले गोलको अवसर पाएको थियो। जसमा मेसीले विश्वकपको चौथो गोल पुरा गरे।
नेदरल्याण्ड्सका लागि दुवै गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका वाउट वेगहर्स्टले गरेका थिए। माम्फेज डिपेइको स्थानमा ७८ मिनेटमा प्रवेश गरेका वाउटले पाँच मिनेटभित्रै पहिलो गोल गरेका थिए।
उनले ८३ मिनेटमा स्टेभन बर्गहजको पासमा हेडिङ गोल गरेका थिए। बर्गहज पनि दोस्रो हाफपछि मैदानमा प्रवेश गरेका थिए। निर्धारित ९० मिनेटको खेल सकिएर थप गरिएको ११ मिनेटमा प्राप्त फ्रिकको अवसरलाई पनि नेदरल्याण्ड्सले सदुपयोग गरेको थियो।
टेउन कप्मेर्न्सले डिबक्स नजिकैबाट हानेको फ्रिककमा डिबक्सभित्र रहेका वाउटले दोस्रो गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।