दोहा– कतारमा जारी विश्वकपअन्तर्गत शुक्रबार राती क्रोएसियाविरूद्ध हुने क्वाटरफाइनलका लागि पाँच पल्टको विश्व च्याम्पियन ब्राजिलले तयारी पुरा गरेको छ।
चोटबाट फर्किएका नेइमारको खेल आजका लागि विशेष हुनेछ। किनभने उनी आफ्ना देशका महान खेलाडी पेलेको सर्वाधिक गोलको कीर्तिमानबाट एक गोलले मात्र पछाडि छन्।
पेलेले ब्राजिलका लागि अहिलेसम्म सर्वाधिक ७७ गोल गरेका छन्। नेइमारको नाममा ७६ गोल छ। क्रोएसियाविरूद्ध आज हुने क्वाटरफाइनल खेलमा उनले गोल गरेको खण्डमा पेलेको कीर्तिमानको बराबरी हुनेछ।
पेलेले ९२ खेलमा ७७ गोल गरेका थिए। उनको उत्कृष्ट खेलमा ब्राजिलले तीन पल्ट विश्वकप उपाधि जितेको थियो।
नेइमार आफ्नो उपस्थितिमा ब्राजिललाई विश्वकप दिलाउने अभियानमा सक्रिय छन्। उनले १ सय २३ खेलमा ७६ गोल गरेका छन्। पेले हाल अस्वस्थ छन्। उनको स्वास्थ्यको कामना गर्दै ब्राजिलका खेलाडीले प्रिक्वाटर फाइनलमा दक्षिण कोरियालाई पराजित गरेपछि मैदानमा ब्यानर प्रदर्शन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।