मड्रिड– कतारमा विश्वकपको ज्वरो बढिरहेको बेला बार्सिलोना, पीएसजी र चेल्सी क्लबलाई उछिन्दै रियल मड्रिडले ब्राजिलका १६ वर्षीय ‘सेन्सेसन’ एन्ड्रिक फिलिपेलाई ५ करोड १० लाख पाउण्डमा अनुबन्धित गरेको छ।
ब्राजिलको पालमेरिया क्लबमा आवद्ध यी किशोर सेन्टर फरवार्डलाई क्लब भित्र्याउन युरोपका ठूला क्लबहरूले प्रयास गरेका थिए। तर बाजी रियल मड्रिडले मारेको हो।
रियलले सम्झौंतामा अन्य क्लबसँग बाजी मारे पनि एन्ड्रिक २०२४ को जुलाईदेखि मात्र बेर्नाबेउका लागि उपलब्ध हुने छन्।
करलगायत अन्य सबै प्रक्रिया पुरा गर्दा रियल मड्रिडलाई यी किशोर खेलाडी भित्र्याउन ६ करोड २० लाख पाउण्डको हाराहारीमा पैसा खर्चिनुपर्ने हुन्छ। एन्ड्रिकले १८ वर्षको उमेर नटेक्दासम्म स्थानान्तरणको प्रक्रिया पुरा गर्न पाउने छैनन्। त्यसै कारण उनको बेर्नाबेउ आगमन २ वर्ष टाढा ढकेलिएको हो।
क्लब र खेलाडीबीच आधिकारीक सम्झौंता केही दिनमा पुरा हुने बताइएको छ। अहिलेलाई दुवै पार्टीबीच मौखिक सहमति भएको समाचारमा उल्लेख छ।
उनका लागि पीएसजीले गत महिना ४ करोड पाउण्डको प्रस्तावअघि सारेको थियो। तर, पालमेरियाले पीएसजीको प्रस्तावप्रति रुचि देखाएन।
एन्ड्रिकलाई चेल्सीमा ल्याउन ब्राजिलका थियगो सिल्भाले परिवारसँग लगातार कुरा चलाएका थिए। तर, त्यो पनि सम्भव भएन।
गत महिना बार्सिलोनाका जाभी हर्नान्डेजले पनि उनको अनुबन्धका लागि पालमेरियासँग वार्ता भइरहेको जनाएका थिए।
देब्रे खुट्टाले खेल्ने एन्ड्रिकले पालमेरियाको जुनियर टिमबाट १६९ खेलमा १६५ गोल गरेका छन्।
रियल मड्रिडले सन् २०१७ मा पनि १६ वर्षीय भिनिसियस जुनियरलाई ३ करोड ९० लाख पाउण्डमा अनुबन्ध गरेको थियो। उनी त्यतिबेला ब्राजिलियन क्लबमा दोस्रो महंगो खेलाडीको रूपमा क्लब स्थानान्तरण गर्न सफल भएका थिए। सन् २०१८ मा पनि मड्रिडले १७ वर्षीय रोड्रिगोलाई सान्तोसबाट अनुबन्ध गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।