दोहा– पूर्वविश्व विजेता स्पेनविरूद्धको जित मोरक्कोका खेलाडीहरूले लामो समयदेखि कोमामा रहेका नेदरल्याण्ड्स युवा टोलीका मिडफिल्डर अब्देल्हाक नुरीलाई समर्पण गरे।
मोरक्कोले प्रिक्वाटर फाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्यो। जितपछि मोरक्कन खेलाडीहरूले ३४ नम्बरको जर्सी देखाएर सबैलाई अचम्मित तुल्याए।
नुरी र मोरक्कन खेलाडीको कुनै सम्बन्ध थिएन। तर, उनका लागि टोलीले ठूलो सम्मान देखायो। नुरी नेदरल्याण्ड्सको आयाक्स क्लबबाट व्यवसायिक फुटबल खेल्थे भने उनी नेदरल्याण्ड्सको युथ–१९ टोलीका सदस्य थिए।
उनको स्वास्थ्य अवस्था राम्रो भएको भए उनी नेदरल्याण्ड्सको राष्ट्रिय टोलीबाट देखा पर्थे कि मोरक्कन टोलीबाट त्यो कल्पना बाहिरको कुरा हो। किनभने उनको परिवार मोरक्कनमूलका नागरिक हुन्। तर, नुरीको जन्म आम्स्ट्रेडममा भएको थियो।
सन् २०१७ मा अस्ट्रियामा भएको वेर्डर ब्रेमनविरूद्धको मैत्रीपूर्ण खेलमा टाउकोमा चोट लाग्दा उनी कोमामा गएका थिए। त्यतिबेला उनको उमेर २० वर्ष मात्र थियो। आयाक्सका पूर्वसमकक्षी जस्टिन क्लुभर्टले मैदानमा भएको यो घटनालाई आफ्नो जीवनकै खराब समय भनेर ब्याख्या गरेका छन्।
नुरी २०१८ को अगस्टमा कोमाबाट बाहिरिएका थिए। स्वास्थ्यमा केही सुधार भएपछि उनलाई परिवारले घर ल्याएको थियो। उनी मुख र आँखा चलाएर परिवारका अन्य सदस्यसँग कुरा गर्छन। उनको स्थितिमा अझै सुधार आएको छैन। उनी ओछ्यानमै छन्।
आयाक्सले उनको सम्मानमा ‘ट्यालेन्ट अफ दि फ्युचर अवार्ड’ नामाकंरण गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।