काठमाडौं– नेकपा एमालेका महासिचव शंकर पोखरेलले पार्टीका स्थायी कमिटी सदस्य प्रभु साहको स्वतन्त्र उम्मेदवारीलाई लिएर एमालेप्रति षडयन्त्र भएको टिप्पणी गरेका छन्।
उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै षडयन्त्रलाई असहमतिको जामा लगाउनुको अर्थ नरहेको उल्लेख गरेका छन्।
‘प्रभु साह जसपासँगको तालमेलको सम्झौता बैठकमा सहभागी हुनु भयो। उक्त सहमतिपश्चात मधेस प्रदेशमा उम्मेदवार टुंगो लगाउने छलफलमा बस्नु भयो। निर्णय भएर अनुसार रौतहटको टिकट पनि लिएर जानु भयो’, पोखरेलले लेखेका छन्, ‘तर, पार्टीलाई धोका दिएर अन्तिम समयमा आफूले स्वतन्त्र उम्मेदवारी दिनुभयो र अन्य क्षेत्रका उम्मेदवारको टिकट समेत नदिइकन समय गुजार्ने षडयन्त्र गर्नु भयो। राजनीतिमा यस प्रकारको षडयन्त्रलाई असहमतिको जामा लगाउनुको कुनै अर्थ छैन।’
पोखरेलले यसप्रकारको छलछाम गठवन्धनका नेतासँगको षडयन्त्रपूर्ण साठगाँठ नै रहेको पनि लेखेका छन्। यस्तै, रौतहटका जनताले यस षडयन्त्रलाई राम्ररी नै बुझेका र मधेस प्रदेशमा एमाले र जसपाबीचमा भएको सहकार्य र तालमेललाई पूर्ण रुपमा सफल बनाउने पनि पोखरेलले विश्वास लिएका छन्।
साहले असोज २३ गते उम्मेदवारी दिने दिन अन्तिम समयमा आएर एमालेको उम्मेदवारीलाई लत्याएर स्वतन्त्र उम्मेदवारी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।