धनगढी– सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ प्रतिनिधि सभामा चार महिला उम्मेदवार मैदानमा छन्। मंसिर ४ गते हुने प्रतिनिधि सभाका लागि नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीका तर्फबाट चार महिला उम्मेदवार छन्।
नेकपा माओवादी केन्द्रको तर्फबाट एक, नेकपा एमालेको तर्फबाट दुई र नागरिक उन्मुक्ति पार्टीको तर्फबाट एक महिला उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
सुदूरपश्चिममा प्रतिनिधि सभाका १६ वटा निर्वाचन क्षेत्र रहेपनि नेपाली कांग्रेसबाट एक जना पनि महिला उम्मेदवार छैनन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवा कैलाली–५ बाट प्रत्यक्षतर्फ उम्मेदवार बन्ने चर्चा भएपनि अन्त्यमा उनलाई डडेलधुराबाट समानुपातिकमा राखिएको छ।
नेकपा माओवादी केन्द्रले कञ्चनपुर–३ मा प्रतिनिधि सभामा बिना मगरलाई उम्मेदवार बनाएको छ। नेकपा एमालेले डोटीमा गौरी ओली र कञ्चनपुर–३ मा निरूदेवी पाललाई उम्मेदवार बनाएको छ। नागरिक उन्मुक्ति पार्टीले कैलाली–१ मा रञ्जिता श्रेष्ठ चौधरीलाई उम्मेदवार बनाएको छ।
एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नेकपा एमालेकी गौरी ओली सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका प्रेम आलेसँग चुनावी मैदानमा उत्रिएकी छन्। ओली एमाले पोलिटब्युरो सदस्य तथा डोटी इन्चार्ज हुन्।
पूर्वमन्त्री आले २०७० र २०७४ मा प्रत्यक्ष निर्वाचित सांसद हुन्। आले एमाले विभाजित भएसँगै नेकपा एकीकृत समाजवादीतिर लागेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।