काठमाडौं– थाइल्यान्डको एक प्रीस्कूल चाइल्ड केयर सेन्टरमा एक पूर्व प्रहरी अधिकारीले अन्दाधुन्ध गोली चलाउँदा ३१ जनाको मृत्यु भएको छ।
थाइल्यान्डको उत्तर पूर्वी नाङ बुआ लाम्फूमा उक्त आक्रमण भएको हो। घटनापछि आक्रमणकारी फरार भएका छन्। मृत्यु हुनेमा कम्तिमा २३ जना बालबालिका रहेको प्रहरीले बताएको छ।
आक्रमणकारीले बालबालिका र वयस्कहरुलाई गोली प्रहार गर्नुका साथै चक्कू प्रहार गरेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार ती पूर्व प्रहरी अधिकारीलाई एक वर्षअघि मात्र निलम्बन गरिएको थियो।
स्थानीय प्रहरी कर्नल जक्कापात विजित्राइथायाले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै बन्दुकधारीको नाम पान्या कामरावब रहेको बताएका छन्। ड्रग्स प्रयोगका कारण उनलाई गत वर्ष निलम्बन गरिएको थियो।
थाइल्यान्डका स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमणकारीले आफ्नो ज्यान आफैं लिएका छन्। उनको शव भेटिएको बताइए पनि प्रहरीले अहिलेसम्म पुष्टि भने गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।