काठमाडौं- बुधबारदेखि भियतनाममा सुरु हुन लागेको एएफसी यू–१७ एसियन कप छनोट अन्तर्गत समूह एफको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग खेल्दैछ।
भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा नेपालले बलियो टोली थाइल्याण्डको सामना गर्नेछ। खेल नेपाली समय अनुसार दिउँसो ४ बजे सुरु हुनेछ।
नेपाल थाइल्याण्डविरुद्ध जित निकाल्दै सुखद सुरुआत गर्ने योजनामा छ। यू–१७ एसियन कप छनोटको प्रमुख लक्ष्यसहित भियतनाम पुगेको नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले बताएका छन्। आफ्नो लक्ष्य अधिकतम अंक बटुलेर छनोट हुने रहेको प्रशिक्षक श्रेष्ठले बताए।
‘यो समूहका सबै टिमको स्तर उस्तै छ जस्तो लाग्छ। हामी सबै विपक्षी टिमलाई सम्मान गछौँ। कुनै पनि खेल सजिलो हुनेछैन। यद्यपि हाम्रो लक्ष्य अधिकतम अंक बटुलेर छनोट हुने हो,’मंगलबार आयोजित प्रि-म्याच कन्फरेन्समा श्रेष्ठले भनेका थिए, ‘थाइल्याण्डसँगको पहिलो खेलमा हाम्रो लक्ष्य जित नै हुनेछ।’
नेपाली टिमका कप्तान प्रशान्त लक्समले आफूहरु कठोर मिहिनेतपछि भियतनाम आएको बताए। उनले सबै खेलमा शतप्रतिशत मिहिनेत गरेर खेल्ने बताए।
छनोटका लागि नेपाली टोली सोमबार भियतनाम पुगेको थियो। समूह एफमा नेपाल र थाइल्याण्डसँगै चाइनिज ताइपेइ र घरेलु टोली भियतनाम छन्।
छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् भने उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्न पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।