काठमाडौं– इरानले इराकमा कुर्दिश समूहविरुद्ध बुधबार सीमापारी गरेको आक्रमणमा सात जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएको बताइएको छ।
तेहरानले कुर्दिश महिला महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएको विरोधमा भइरहेको प्रदर्शनको विरोधमा घरेलु कारबाही तीव्र पारेका बेला इरानले हालैका दिनहरूमा स्वायत्त इराकी कुर्दिस्तानका जिल्लाहरूमा बारम्बार आक्रमण गरेको छ।
कुर्दिस्तानको राजधानी अर्बिलस्थित क्षेत्रीय स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पछिल्लो आक्रमणमा कोइसिनजाक क्षेत्रमा चार जनाको मृत्यु हुनुका साथै १४ जना घाइते भएको र शेरावामा तीन जनाको मृत्यु हुनुका साथै १४ जना घाइते भएको जनाएको छ।
स्वायत्त कुर्दिस्तानका एक वरिष्ठ अधिकारीले एएफपीसँग भने, ‘आक्रमणमा घाइते भएकामध्ये अधिकांश सर्वसाधारण हुन्।’
कुर्दिस डेमोक्रेटिक पार्टी अफ इरान (केडीपीआई) ले ट्वीट गर्दै भनेको छ, ‘यी कायरतापूर्ण आक्रमणहरू यस्तो समयमा भइरहेका छन् जब इरानको सत्ताले कुर्दिश र इरानी जनताको नागरिक प्रतिरोधलाई दबाउन असमर्थ भएको छ।’
इरानले महिलाका लागि कडा ड्रेस कोड उल्लंघन गरेको आरोपमा पक्राउ परेको तीन दिनपछि २२ वर्षीया अमिनीको तेहरानमा सेप्टेम्बर १६ मा मृत्यु भएको थियो। ओस्लोस्थित समूह इरान ह्युमन राइट्सका अनुसार उनको मृत्युपछि इरानभरी भएका विरोध प्रदर्शनमा इस्लामिक गणतन्त्र इरानमा कम्तीमा ७६ जनाको ज्यान गइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।