फाइल तस्बिर।
काठमाडौं– अछामका विभिन्न ठाउँमा आएको पहिरोमा परेर १५ जनाको मृत्यु भएको छ। पहिरोमा परेका अन्य ८ जना अझै बेपत्ता भएका छन्।
११ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। यीमध्ये तीन जनालाई थप उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको छ।
तुर्माखाँद गाउँपालिका–५ को नाडामा पहिरोले २ घर बगाएको थियो। त्यहाँ ९ जना बेपत्ता भएकोमा २ जनाको शव निकालिएको छ।
यस्तै, कमलबजार नगरपालिका–६ मा सात जनाको शव भेटिएको छ। ९ जना घाइतेको उद्धार भएको अछाम प्रहरी प्रमुख, डीएसपी नारायण डाँगीले नेपाल लाइभलाई बताए।
कमलबजार नगरपालिका–८ मा पाँच जनाको शव निकालिएको उनले बताए। त्यहाँ एक बच्चाको उद्धार गरिएको छ।
ढकारी गाउँपालिकामा एक जनाको शव भेटिएको छ भने एक जना बेपत्ता छन्। अन्य बेपत्ताहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
पहिरोमा परेकाको उद्धार र खोजीका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट थप टोली अछाम पुग्दैछ। पहिरो ठूलो रहेको र पानी परिरहेकाले उद्धारमा समस्या भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।