काठमाडौं– सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर ठोक्किएर भएको दुर्घटनाबारे सरकारले अनुसन्धान थालेको छ । दुर्घटनाको वास्तविक कारण र त्यसमा रहेका प्राविधिक पक्ष पहिचान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।
मंगलबार बिहान ८:१२ बजे अवतरण गर्ने क्रममा एयर डाइनेस्टीको ‘९एन–एओडी’ र फिस्टेल एयरको ‘९एन–एजेआर’ हेलिकप्टर एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा फिस्टेल एयरको हेलिकप्टरमा सवार भारतको तमिलनाडुस्थित चेन्नईका ४७ वर्षीय वसन्तकुमार बलरामुडुको मृत्यु भएको छ । मृतकको शव व्यवस्थापन प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । उनीहरूको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
मन्त्रालयले घटनाको विस्तृत अध्ययन गरी दुर्घटनाको परिस्थिति र प्राविधिक कारण पहिचान गरिने जनाएको छ । अनुसन्धानबाट प्राप्त निष्कर्ष तथा सुझावका आधारमा आवश्यक सुधारात्मक कदम चालिने विज्ञप्तिमा उल्लेख छ ।
हवाई सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन र नियमनलाई सरकारले प्राथमिकतामा राखेको पनि मन्त्रालयले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।