



काठमाडौं – राज्य आतंक सिर्जना गर्दै गत शुक्रबार समाचार कक्षभित्रै पसेर पत्रकार धरपकड गरेको घट्नाबाट सरकार पन्छिएको छ ।
मन्त्रिपरिषद्को मंगलबारको बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रहरीले प्रकाशित भएका समाचारहरू कसरी भए भन्नेबारे बुझ्नका लागि मात्रै उक्त कार्य गरेको बताए ।
समाचार कक्षभित्रै प्रवेश गरेर भएको धरपकड प्रहरीले आन्तरिक अनुसन्धानका लागि मात्रै गरेको उनको भनाई थियो ।
‘उनले भने– प्रहरीको आन्तरिक कतिपय सूचना चुहावट भएको भनि उदाहरणका लागि प्रधानमन्त्री आईजीपीको राजीनामा माग्यो वा कारबाही गर्न लाग्यो भन्ने हुँदै नभएको भ्रामक सूचना कहाँबाट आयो, त्यसको तथ्यजाँच नगरी कसरी भयो भनेर प्रहरीले जाँचबुझ गर्नका लागि मात्रै कसैसँग सल्लाह गरेको भन्ने प्रहरीको आन्तरिक कुरा मात्रै हो ।’
सरकारसँग पूर्व अनुमति लिएर प्रहरीले उक्त कार्य नगरेको उनको दाबी थियो ।
‘सरकारसँग पूर्ण अनुमति लिएर वा के गरेर गरेको होइन । त्यसमा सरकार वा प्रधानमन्त्रीज्यूलाई केही थाहा थिएन । प्रहरीले आफ्नो आन्तरिक सूचना चुहावट भएको भएर सोधपुछका लागि गरेको हो,’ पोखरेलले भने ।
प्रधानमन्त्रीज्यूलाई यसको जानकारी आउनासाथ कोही पनि पत्रकारलाई सोधपुछ गर्नेगरी हिरासतमा नराख्न निर्देशन दिएको दाबी गर्दै सरकारी प्रवक्ताले भने– ‘‘कसैलाई गिरफ्तार गरेको वा नियन्त्रणमा लिएको भने होइन ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।