दाङ– सहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्री पद बहाली गरसँगै गृह जिल्ला दाङ आएर थुप्रै आयोजनाहरु शिलान्यास गरे। बजेट बिनियोजनभन्दा पनि मन्त्री चौधरी आयोजना शिलान्यास गर्नमै व्यस्त रहे। उनले जिल्लामा आएर शिलान्यास गरेका आयोजनाहरुको काम हुने वा नुहने भन्ने कुरा अनिश्चित बन्दै गएको छ।
मन्त्री चौधरीले शिलान्यास गरेको लमहीको एउटा आयोजनाको काम सुरु हुन सकेको छैन। प्रक्रिया नै पूरा नभएको लमही नगरपालिका वडा नं. ५ रातो डाँडास्थित लमही नगर विकास समितिले निर्माण गर्न लागेको बहुउद्देश्यीय सभाहलको शिलान्यास चौधरीले साउन २८ मा गरेका थिए।
शिलान्यास कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले सभाहल सुविधा सम्पन्न बनाउन आवश्यक सहयोग गर्ने उद्घोष गरे, तर एक महिना बितिसक्दासमेत आयोजना अघि बढ्न सकेको छैन।
सचिव डा. सिंहले शिलान्यास कार्यक्रममा भवन निर्माणको लागि सघन सहरी आयोजना कार्यालय घोराही दाङबाट बजेटको छुट्टै व्यवस्था गर्ने र उक्त आयोजनालाई बुहुवर्षीय आयोजनामा स्वीकृत गर्ने बताएका थिए।
बजेटको व्यवस्थाबिनै मन्त्री चौधरीले सघन सहरी आयोजना कार्यालय घोराही दाङको लगानी स्वीकृत नै नगरी बहुद्देश्यीय सभाहलको शिलान्यास गरेका हुन्। यसबाट पनि श्रेय लिनका लागि मात्रै उनले शिलान्यास गरेकाे बुझ्न सकिन्छ।
यता सघन सहरी आयोजना कार्यालय घोराही दाङका इञ्जिनियर विजय शेखर खनालले बहुउद्देश्यीय सभाहल निर्माण गर्ने भनेर बजेट प्राप्त नभएको बताएका छन्। सभाहल निर्माण गर्ने भनेर कुनै कार्यक्रम नभएको र सघन सहरीबाट निर्माण गर्ने भन्ने कुरा मात्र सुनिएको उनले बताए।
‘विभागमा पठाउनका लागि स्टिमेटहरु बनाउने काम गरिरहेका छौं। विभागमा पठाइसकेपछि अर्थ मन्त्रालयले पनि पूर्ण बजेटको सुनिचिश्ता गर्नुपर्छ,’ खनालले भने, ‘सोही अनुसार प्रक्रियामा हामी लागिरहेका छौं। टेण्डर प्रक्रिया फाइनल भएर भवन निर्माणको काम सुरु माघ महिनादेखि होला।’
उक्त बहुउद्देश्यीय सभाहलका लागि भवन निर्माण पूरा गर्न ५३ करोड लागत अनुमान गरिएको छ।
यता लमही नगर विकास समितिका सव–इञ्जिनियर तुल्सीराम अर्यालले भवन निर्माणको लागि नगर विकास समितिबाट जग्गा व्यवस्थापन भएको तर अहिलेसम्म काम सुरु हुन नसकेको बताए।
केही समयअघि मात्र शिलान्यास भएको राप्ती नदीको दुवै किनारामा पक्की सडक निर्माण गरेर राप्ती करिडोर निर्माण गर्ने महत्वाकांक्षी योजनाको निर्माण कार्य पनि अघि बढ्ने संकेत देखिँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।