काठमाडौं– काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत पदमा आज बसन्त अधिकारीले पदबहाली गरेका छन्। भदौ १६ गतेको मन्त्रीस्तरीय निर्णयबाट अधिकारी महानगरको प्रमुख प्रशाककीय अधिकृतमा नियुक्त भएका हुन्।
पदबहाली भएसँगै उनले प्रशासनको अभिभावकका रुपमा काम गर्ने बताएका छन्। ‘नीतिमा प्रमुख, उपप्रमुख, कार्यपालिका र नगरसभाको अभिभावकत्व रहन्छ । म प्रशासनको अभिभावकत्व गर्छु । कार्य सम्पादन सम्झौता गरेर अधिकार प्रत्यायोजन गर्छु र विभागको प्रगति मूल्यांकन गर्छु’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने, ‘वडा सशक्त हुनुपर्छ ।
वडाले गर्ने ८८ वटा काम छन् । तीमध्ये ३५ प्रकारका सिफारिस र अन्य प्रकारका सेवा प्रवाह गर्नुपर्छ । महानगरसँग अहिले धेरैको अपेक्षा छ । त्यसका लागि वडालाई क्षमतावान बनाउनमा मेरो ध्यान हुनेछ ।’
अधिकारी २०४९ सालमा सहलेखापालबाट सेवामा प्रवेश गरेका थिए। २०५२ सालमा महालेखा परीक्षकको कार्यालय, २०५३ मा राष्ट्र बैंकको सेवा हुँदै २०५५ मा शाखा अधिकृत भएका थिए। २०६२ मा उपसचिव र २०७४ मा सहसचिव भएका अधिकारीले स्थानीय, गृह प्रशासन, भूमि व्यवस्था, स्वास्थ्य, योजना आयोग, यातायात व्यवस्था, लोकसेवा आयोगलगायत विभिन्न सेवा र क्षेत्रको अनुभव हासिल गरेका छन्। काठमाडौं महानगरमा आउनुअघि उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा थिए।
प्रदेश सरकार गठन हुँदा अधिकारीले बागमती प्रदेशको अर्थसचिवका रुपमा काम गरिसकेका छन्। त्यसपछि लुम्बिनी प्रदेश मुख्यमन्त्रीको कार्यालयमा १७ महिना सेवा गरे।
महानगरका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन्। उनी २०७८ पुस ७ गतेको निर्णयअनुसार महानगरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।