धनगढी– स्थानीय तहमा निर्वाचित दलित महिला सदस्यका माग सम्बोधन गराउन पालिकास्तरीय दलित महिला सदस्यहरुको सञ्जाल गठन गरिने भएको छ ।
पालिकामा दलित महिला सदस्यले मागेको योजना नपाइने, नीति कार्यक्रममा सहभागिता नगराइने जस्ता समस्या देखिन थालेपछि दलित महिला सदस्यले पालिका स्तरीय सञ्जाल गठन गर्ने निर्णय गरेका हुन् ।
बुधबार धनगढीमा भेला भएका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, डोडी र अछामका निर्वाचित दलित महिला सदस्यहरुको सम्मेलनले आफ्ना मागहरु पुरा गराउन दबाब दिने उद्देश्यले पालिकास्तरीय सञ्जाल बनाउने निर्णय गरेका हुन् ।
जसअनुसार धनगढी उप महानगरपालिकामा माया ताम्राकारको संयोजकत्वमा सञ्जाल कमिटी बनेको हो । ‘अन्य पालिकामा पनि छिट्टै सञ्जाल बनाउने भन्ने सहमति भएको छ,’ भेला आयोजक दलित महिला संघका कैलाली संयोजक विनोद घिमिरेले भने, ‘दुई/चार दिनमा ६ वटै पालिकामा सञ्चाल गठन हुनेछन् ।’
सम्मेलनको आयोजना सम विकास केन्द्र नेपाल, दलित महिला अधिकार मञ्च नेपाल र दलित महिला संघले गरेका थिए ।
भेलामा सहभागी दलित महिला सदस्यमध्ये अधिकांशले आफ्ना मुद्दामा वडा अध्यक्ष र पालिका प्रमुखहरु सकारात्मक नदेखिएको गुनासो गरेपछि पालिकास्तरीय दलित महिला सदस्यको सञ्जाल गठन गरेर अघि बढ्ने निर्णय भएको दलित महिला अधिकार मञ्च कैलालीकी अध्यक्ष सावित्रा किमिरेले बताइन् ।
एउटै व्यक्तिले बोलेको भन्दा सामूहिक रुपमा आवाज उठ्दा दबाब सिर्जना गर्न सकिन्छ भन्ने निर्क्याैल साथ सञ्चालन गठन गर्ने निर्णय गरेको उनले बताइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।