काठमाडौं- काठमाडौं महानगरपालिकाले यसवर्ष ईन्द्र जात्रा पर्व अवलोकनका लागि महागरपालिकासँग भगिनी सम्बन्ध भएका अन्तर्राष्ट्रिय सहरका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरुलाई बोलाउने भएको छ।
देशभित्रका ५ वटा नगरसँगै महानगरको १८ वटा अन्तर्राष्ट्रिय नगरहरुसँग भगिनी सम्बन्ध कायम भएको छ। यसरी सम्बन्ध गाँसिएका अन्तर्राष्ट्रिय नगरहरुमध्ये चीनमा सियान, ल्हासा, सेन्जेन, नान्जिन, छेङ्दु, जिन्झाउ र लान्चोड गरी ७ वटा सहर छन्।
काठमाडौं महानगरसँग धेरै सहरको भगिनी सम्बन्ध भएका देशहरुमा चीन पहिलो हो। चीनपछि संयुक्त राज्य अमेरिका दोस्रो हो। अमेरिकाका बोल्डर, फेडरिकबर्ग, युजिन र रोचेष्टर नगरसँग भगिनी सम्बन्ध छ।
यसैगरी जापानको मात्सुमोतो, दक्षिण कोरियाको सिउल, बेलारुसको मिन्स्क, म्यानमारको यांगुन, उत्तर कोरियाको प्योङ्याङ्, भारतको वाराणसी र स्पेनको मेड्रिड सहरसँग भगिनी सम्बन्ध छ।
अहिले विश्वमा कोभिड संक्रमणको दर बढिरहेको छ। जात्रा अवलोकनका लागि अन्तर्राष्ट्रिय प्रतिनिधित्व यसैमा निर्भर रहन्छ। चीनमा संक्रमण रोकथामका लागि स्वास्थ्य मापदण्डलाई कडाई गरिएकोले पाहुनाहरु आउन कठिन हुने प्रारम्भिक सूचना पाएको मेयर बालेन्द्र शाहले जनाए।
काठमाडौं महानगरपालिका र उपत्यकाको चिनारीसँग जोडिएको इन्द्र जात्राका औपचारिक कार्यक्रमहरु सुरु भएका छन्। पर्वअन्तर्गतका वन प्रस्थान, लिड्गो नगर प्रवेश, इन्द्रध्वज उत्थानलगायत कार्यक्रम सम्पन्न भइसकेका छन्।
‘मानव सिर्जित सम्पदाको सुन्दरता र यी भौतिक सम्पदासँग जोडिएका अमूर्त सम्पदाको मिश्रणले काठमाडौंको सभ्यतालाई उज्वल बनाएको छ,' मेयर बालेनले भने, 'यसको एउटा विम्ब इन्द्रजात्रा 'येया' पर्व हो। यसको सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक तथा सामाजिक पक्षको अन्तरघुलन अद्वितीय छ। धार्मिक सहअस्तित्व स्वीकार गरेर हिन्दू र बौद्ध धर्मावलम्बीले एउटै पर्वलाई आफ्ना आफ्ना विधिबाट मनाउनुले दिएको सन्देश गहिरो छ।'
इन्द्र जात्रा पर्यटकीय सम्भावनाको आकर्षक क्षेत्र हो। यसको गरिमालाई देशभरि नै अपनत्व गराउन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न काठमाडौं महानगरपालिकाले जात्रा अवलोकनका लागि देशभित्र र बाहिरबाट पाहुना बोलाएको उनले बताए।
२०७६ सालमा भगिनी सम्बन्ध भएका नगरबाट पाहुना बोलाउन थालिएको हो। यो सुरुआत तत्कालीन नगरप्रमुख, उपप्रमुखसहित योजनामा सहभागी सबैलाइ मेयर बालेनले धन्यवाद दिएका छन्।
'यसवर्ष भगिनी सम्बन्ध भएका राष्ट्रिय, अन्तर्राष्ट्रिय नगरसँगै दक्षिण एशियाली मुलुकका राजधानी सहरबाट प्रमुख र उपप्रमुखलाई जात्रा अवलोकन गर्न आमन्त्रण गरेका छौं। यस्तै नेपालका सबै महानगरका प्रमुख र उपप्रमुख तथा काठमाडौं उपत्यकाका सबै नगरपालिकाका प्रमुख र उपप्रमुखलाई निमन्त्रणा गरिसकेको छौ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।