काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिको संरक्षणका लागि दिइने रकम समयानुकुल बढाउँदै लैजान आवश्यक रहेको बताएका छन्।
बुधवार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी भएका मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। उनले इन्द्रजात्रा सांस्कृतिक महत्त्वले भरिपूर्ण भएकोले यसको छुट्टै महत्व र पहिचान रहेको उल्लेख गरे।
मन्त्री श्रेष्ठले सांस्कृतिक महत्त्व बोकेका पर्वहरुलाई समयसापेक्ष बनाइ उनीहरुको जगेर्नाका लागि समर्थन र सहयोग गर्नुपर्ने बताए। उनले पर्व सञ्चालनको व्यवस्थालाई पनि समयसापेक्ष परिमार्जन गरेर अघि बढ्न आवश्यक रहेको बताए। उनले सांस्कृतिक पर्व पैसाले मात्रै बच्ने नभएकाले सबैको संलग्नता र सहयोगको आवश्यक भएको उल्लेख गरे।
‘यो हाम्रो ऐतिहासिक दिन हो। इन्द्रजात्रा सांस्कृतिक पर्व हो। हाम्रो पहिचान र सभ्यता हो। यसको ऐतिहासिक महत्व छ। आजबाट लिंगो ठड्याउने काम भएपछि इन्द्रजात्रा पर्व शुरु भयो। हाम्रा जात्रा, पर्व, संस्कृतिहरुको लागि हिजोको अवस्थामा जसरी सञ्चालनको लागि व्यवस्था भएको थियो, त्यो अब समयसापेक्ष परिमार्जन गर्नुपर्छ। यसमा दिइरहेका जुन खालका अनुदानहरु छन्, सञ्चालनको लागि दिने रकम अहिलेको समय सापेक्ष बढाउनुपर्छ।' उनले भने, 'संस्कृतिको संरक्षणका लागि समयानुकुल, समर्थन र सहयोग गर्नुपर्छ। यो पैसाले मात्रै बच्ने संस्कृति होइन, सबैको संलग्नतामा मात्रै यी पर्वहरु आयोजना हुनसक्छ। गुठीहरुलाई कसरी संरक्षण गर्ने, यसको लागि चाहिने खर्चलाई कसरी व्यवस्थापन गर्ने भन्नेकुरा हेरेर समयसापेक्ष परिमार्जन गरेर अघि बढ्नुपर्ने आवश्यक्ता छ।’
मन्त्री श्रेष्ठले सांस्कृति पर्वहरुलाई जोगाइराख्न त्यसमा सम्बद्ध गुठीहरुलाई पनि संरक्षण गर्नुपर्ने भन्दै गुठीहरुको खर्चलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा जोड दिन आवश्यक रहेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।