काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने जनाएको छ।
बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेकोले महाशाखाको पूर्वानुमान छ। ‘पहाडी भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ,’ महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
भारी वर्षाका कारण नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक शतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश सामान्य बदली रही अन्य प्रदेशहरूमा मौसम आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।