काठमाडौं– मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका शेरजंग गुरुङलाई रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा दरबार मार्ग वृत्तकाे प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटिजका सुरक्षागार्ड गुरूङको तत्काल रिहा गर्नुपर्ने माग गर्दै श्रीमती लक्ष्मी गुरुङले साेमबार रिट निवेदन दिएकी हुन्।
गरूड सेक्युरिटिजको सहयोगमा श्रीमतीले सर्वोच्चमा निवेदन दिएकी हुन्। उनले आफ्नो श्रीमानलाई गैरकानुनी रुपमा थुनामा राखेकाले तत्काल रिहाइ गर्नु भनी अन्तरिम आदेश जारी हुनुपर्ने माग रिट निवेदनमा गरिएको छ। सर्वोच्चले उक्त रिटको पेशी मंगलबारका लागि तोकेको छ। मंगलवार हुने सुनुवाईले उनलाई तत्काल रिहाई गर्नु भन्ने आदेश भएमा उनी छुट्नेछन्।
आइतबार गुरुङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइन बस्न’ लगाएको आरोपमा उनी पक्राउ परेका थिए।
रिट निवेदनमा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, पर्यटन मन्त्रालय, गृह मन्त्रालय, प्रहरी वृत्त दरबारमार्ग, जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला प्रशासन कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं लगायतलाई विपक्षी बनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।