काठमाडौं– नेपालमै अन्तर्राष्ट्रिय स्तरको आँखाको कस्मेटिक सर्जरी सेवा उपलब्ध भएकाले अभिनेत्री करिश्मा मानन्धरले आफ्नो आँखाको तल्लो र माथिल्लो भागको कस्मेटिक सर्जरी गर्ने बताएकी छन्।
ललितपुरको कुपण्डोलमा रहेको नेशनल आई एन्ड कस्मेटिक सर्जरी सेन्टरको सातौं वार्षिकोत्सवमा प्रमुख अतिथि भएर पुगेकी अभिनेत्री करिश्माले त्यहाँ आफ्नो आँखाको कस्मेटिक सर्जरी गर्ने बताएकी हुन्।
‘आँखाको तलको भाग झोलिएको र माथिल्लो भागमा पनि केही समस्या देखिएकाले कस्मेटिक सर्जरी गर्ने योजनामा थिएँ। बैंककमा गर्नु पर्ने सर्जरी त्योभन्दा धेरै सस्तोमा यहीँ हुने भएपछि मैले नेशनल आई एन्ड कस्मेटिक सर्जरी सेन्टरमा आँखाको कस्मेटिक सर्जरी गर्ने निर्णय लिएँ।’ अभिनेत्री करिश्माले सातौं वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै भनिन्,‘कस्मेटिक सर्जरीबाट आँखाको सुन्दरतासँगै मुहार नै सुन्दर देखिने भएपछि हामी कलाकारहरुलाई यो प्रविधि अझ उपयुक्त हुने भएको छ।’ स्वदेशमै यो सेवा उपलब्ध हुनुले आफूहरुलाई अझ सजिलो भएको पनि उनले बताइन्।
अन्तर्राष्ट्रिय गुणस्तरको कस्मेटिक सर्जरी
विगत सात वर्षदेखि आँखासम्बन्धी सबै समस्या र आँखासहित अन्तर्राष्ट्रिय गुणस्तरको कस्मेटिक सर्जरी आफूहरुले गर्दै आएको उक्त सेन्टरकी अध्यक्ष एवम् डा. पुजा राजभण्डारीले बताइन्। सेन्टरले प्रदान गर्ने सेवाबारे उनले भनिन्,‘आँखाबाट निरन्तर आँशु वा पिप बग्ने समस्याको उपचार गर्ने, आँखाको वरिपरिको बोसो, मुसा, मासुको डल्ला, ट्युमर हटाउने, आँखाको झिल्ली बाहिर भित्र फर्केको उपचार गर्ने, आँखाको ढकनी तल झरेको उपचार गर्ने, आँखाको मुन्द्री बनाउने, मँगोलियन आईलिड सर्जरी गर्ने जस्ता सेवा हामीले दिएका छौं। यस्तै आँखाको बोसो हटाउने, आईब्रो लिफ्टिङ गर्ने, गाला लिफ्टिङ गर्ने, अनुहारको चाउरीपना हटाउने, रोगका कारण आँखा साना ठूला भएकाहरुको उपचार कस्मेटिक आई सर्जरीबाट गर्ने सेवा पनि हामीले दिएका छौं।’
यस क्रममा सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले आफूहरुले विदेशमा दिने आँखाको कस्मेटिक सर्जरीसम्बन्धी सबै सेवा दिएकाले यो सेवाको लागि नेपालीहरु विदेश जाने क्रम निकै कम भएको बताए। ‘बैंकक पुगेर यही सेवाको लागि जति खर्च लाग्छ, त्यसको एक चौथाई खर्चमा हामी यहाँ आई कस्मेटिक सर्जरी गर्छौं। रमाईलो कुरा के भने, हाम्रै डाक्टरहरुले बैंकक गएर यस्तो सर्जरी गर्ने भएकाले त्यो सुविधा निकै सस्तोमा यहीं गर्न पाइएको छ।’ उनले भने।
कस्मेटिक सर्जरीसँगै आँखासम्बन्धी सबै प्रकारको समस्याको उपचार गर्ने भएकाले नेशनल आई एन्ड कस्मेटिक सर्जरी सेन्टरप्रति आँखामा समस्या भएकाहरुको उपस्थिति राम्रो हुँदै आएको पनि कक्षपतिले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।