दाङ– चट्याङ लागेर दाङमा २ जनाको मृत्यु भएको छ भने थप १२ जना घाइते भएका छन्। तिजको नाच हेर्न जम्मा भएका स्थानीयहरु चट्याङ लागेर घाइते भएका हुन्।
चट्याङ लागेर घोराही उपमहानगरपालिका वडा नम्बर १२ गुरौ गाउँका १६ वर्षिया दीपा घर्ती र मनिशा शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) राजन गौतमले जानकारी दिए।
चट्याङले गम्भीर घाइते भएका २ जनालाई उपचारका लागि जिल्ला सदरमुकाम घोराहीतर्फ ल्याउँदै गरेको प्रहरीले जानकारी दिएको छ।
तिजको राति सालडाँडा भन्ने स्थानमा स्थानीयहरु नाच हेर्न जम्मा भएका थिए। स्थानीयका अनुसार राति करिब साढे ११ बजेको समयमा चट्याङ परेको थियो।
घटनाबारे बुधबार बिहान ७ बजेपछि मात्रै वडाध्यक्ष द्रोणबहादुर बहकरीले प्रहरीलाई खबर गरेका थिए।
स्थानीय र वडाध्यक्षले जानकारी दिएपछि घटनास्थलतर्फ प्रहरी खटाइ डीएसपी गौतमले जानकारी दिए।
डीएसपी केसीका अनुसार घटनास्थल सडकमार्गभन्दा टाढा छ। सडकबाट झण्डै ५ घण्टा पैदल हिँडेर मात्रै घटनास्थल पुग्ने अवस्था रहेको गौतमले जानकारी दिए।
‘सडक भएको ठाउँबाट घटनास्थल पुग्न झन्डै ५ घन्टा पैदल हिड्नु पर्ने रैछ, फेरि पानीले गर्दा बाटो अवरुद्ध भएकोले पुग्न समस्या भएको छ,’ डिएसपी गौतमले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।