काठमाडौं– शुक्रबार नेपालका सिनेमा हलमा तीन फिल्म प्रदर्शनमा आएका छन्। दुई नेपाली फिल्म ‘राधा’ र ‘प्रकाश’सँगै दक्षिण भारतीय फिल्म ‘लाइगर’ शुक्रबारदेखि हलमा लागेका हुन्।
राधालाई सुवर्ण थापाले निर्देशन गरेका छन्। थापाको निर्देशन तथा कथा रहेको फिल्ममा एकल महिलाको कथा देखाइएको छ।
बेपत्ता श्रीमानको खोजी र आउने आशामा संघर्षरत महिलाको कथा प्रस्तुत फिल्ममा अभिनेत्री सृष्टि श्रेष्ठको मूख्य भूमिका छ। सँगै फिल्ममा खगेन्द्र लामिछाने, सौगात मल्ल, मेनुका प्रधान, निश्चल बस्नेत, दयाहाङ राई, दिव्य देव पन्त लगायतका कलाकारको अभिनय छ।
त्यस्तै, प्रकाश पनि प्रदर्शनमा आएको छ। दिनेश राउतको निर्देशनमा बनेको यो फिल्मलाई विकास सुवेदीले लेखेका हुन्। फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडालगायतका कलाकारको अभिनय रहेको छ। फिल्ममा शिक्षक बन्नका लागि संघर्षरत एक युवकको कथा देखाइएको छ।
आजबाटै हलमा लागेको दक्षिण भारतीय फिल्म लाइगर पुरी जगन्नाथको निर्देशनमा बनेको फिल्मको हो। खेलकुदकेन्द्रित एक्सन फिल्मलाई निर्देशक जगन्नाथले नै लेखेका हुन्। फिल्ममा विजय देभरकोण्डा, अनन्या पाण्डेलगायतका कलाकारको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।