काठमाडौं– केही साताअघि फर्स्ट लुक्स र प्रदर्शन मिति सार्वजनिक गरेको फिल्म ‘महापुरुष’मार्फत अभिनेता अरुण क्षेत्रीले पनि डेब्यु गर्दैछन् । फिल्मको निर्माण पक्षले मंगलबार फिल्मका अभिनेता क्षेत्रीको लुक्स सार्वजनिक गरेको हो।
मंगलबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मको निर्माण पक्षले फिल्ममा अरुण क्षेत्रीको भूमिकाबारे जानकारी दिएको हो। फिल्मका निर्देशक प्रदिप भट्टराईले नयाँ पोस्टर सामाजिक सञ्जालमा राख्दै लेखेका छन्, ‘महापुरुषका हाम्रो नायक अरुण क्षेत्रीलाई तपाईहरुमाझ चिनाउन ल्याएका छौं। मलाई विश्वास छ, हाम्रो गीत, ट्रेलर अनि सिनेमा हेरेपछि तपाईँहरुले भन्नुहुनेछ, ‘नेपाली सिनेमाले एउटा राम्रो चाहिने मान्छे पायो भनेर ।’ साथै निर्देशक भट्टराईले अभिनेता क्षेत्रीले सिनेमा बुझेको र मिहेनत गरेको पनि उल्लेख गरेका छन्।
सार्वजनिक पोस्टरमा अरुण अभिनित पात्रले बाइक कुदाइरहेको र बाइकको पछाडि अभिनेता हरिवंश आचार्य रहेको देखिन्छ । फिल्ममा हरिवंशको छोराको भूमिकामा देखिएका उनको नाम विज्ञान रहेको निर्माण पक्षले बताएको छ।
‘महापुरुष’मा मुख्य भूमिकामा महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठसँगै अञ्जना बराइली, रविन्द्र सिंह बानियाँ, राजामराम पौडेललगायतका कलाकारको अभिनय रहेको छ। निर्देशक भट्टराईकै लेखनमा आधारित फिल्ममा सामाजिक व्यंग्यात्मक विषयवस्तुलाई समेटिएको बताइएको छ। फिल्म कात्तिक ११ मा प्रदर्शनमा आउँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।