काठमाडौं– चलचित्र ‘प्रकाश’को वर्ल्ड प्रिमियर जुम्लामा गरिएको छ। आइतबार राति पातारासी गाउँपालिकाको तिर्खु गाउँस्थित ऋणमोक्ष माध्यमिक विद्यालयको प्रांगणमा फिल्म प्रदर्शन गरिएको हो।
प्रिमियरमा स्थानीयवासीको बाक्लो उपस्थिति थियो। फिल्मका निर्देशक दिनेश राउतले पातारासी गाउँपालिका, तिर्खु गाउँस्थित ऋणमोक्ष माध्यमिक विद्यालयलाई धन्यवाद दिएका छन्। फिल्मको प्रिमियरमा नायक प्रदीप खड्का र लेखक विकास सुवेदी जुम्ला पुगेका थिए। उनीहरूलाई स्थानीयले भव्य स्वागत गरेका थिए।
फिल्म हल समेत नभएको उक्त गाँउमा प्रोजेक्टरमार्फत् फिल्म देखाइएको थियो। बिजुली समेत नभएका कारण फिल्म टिमले प्रिमियरका लागि जेनेरेटर समेत आफैंले लिएर गएको थियो।
चलचित्र ४५ दिनसम्म जुम्लाको तिर्खु गाँउमा छायांकन गरिएको हो। निर्देशक दिनेश राउतले जुम्लाको भाषा, संस्कृति, रहन सहन, रितिरिवाजका माध्यमबाट कथा भनिएका कारण पहिलो दर्शकका रुपमा त्यहीँका स्थानीयलाई रोजेको बताए।
चलचित्रमा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।