काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद विषय भएको बताएका हुन्। फोहोर समस्याको दीर्घकालिन समाधानका लागि सबै राजनीतिक दलहरुले यथाशीघ्र साझा ढंगले सोच्नुपर्ने बताए ।
महामन्त्री शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई साथ दिनुपर्ने र बञ्चरेडाँडाँका नागरिकहरुको जायज मागको पनि राज्यले तत्काल सम्बोधन गर्नुपर्ने बताए।
‘शासनहरु बदलिन्छन् । राजसंस्थाबाट हामी गणतन्त्रमा पुग्छौं। यो दलको शासनबाट त्यो दलको शासनमा पुग्छौँ । दलहरुबाट फेरि स्वतन्त्रमा पनि पुग्छौं। स्वतन्त्रहरु कहीं जिम्मेवारीमा । कहीं दलहरु जिम्मेवारीमा । तीन तहको सरकार रहँदा पनि बिहान र साँझको गरेर दुई खेपको फोहोर उठाउन नसक्ने अवस्था आउनु लज्जास्पद कुरा हो’ महामन्त्री शर्माले भने ।
‘मैले अपील गर्नैपर्छ, भन्नैपर्छ, बिहान साँझ दुवै छाकको फोहोर उठाउन सक्ने अवस्थाका तीन/तीन तहको सरकार चलिरहेको छ, तर हप्तौंसम्म फोहोर उठाउन नसक्ने अवस्था देखाएर लज्जास्पद विषय बनाइरहेका छन्, यसलाई तत्काल अन्त्य गर्नुपर्छ’ उनले भने ।
काठमाडौं जस्तो शहरमा यो फोहोर उठाउने कुरा र यसको दीर्घकालिन समाधानको बारेमा सबै राजनीतिक दलले साझा ढंगले सोच्ने कुरा हो। एक्काइसौं शताब्दीमा पनि आँगनको फोहोर कसरी सफा गर्ने भन्ने विषय होइन । यो विषयलाई जुन तहबाट कमजोरी भइरहेको छ, केन्द्र, प्रदेश चाहे स्थानीय तहबाट सम्बोधन गर्नुपर्छ ।’
उपत्यकाको फोहोरका समस्या सधैंका लागि समाधान गर्न संघ, प्रदेश र स्थानीय तह सबै जिम्मवार बनेर काम गर्नुको विकल्प नरहेको उनको भनाइ थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।