काठमाडौं– लिजेन्डरी लेब्रोन जेम्स एनबीए इतिहासमा सबैभन्दा महँगो बास्केटबल खेलाडी बनेका छन्।
लस एन्जलस लेकर्सले उनीसँग आगामी दुई वर्ष २०२४-२५ का लागि ७७३ करोड रूपैयाँ (९७.१ मिलियन डलर) को सम्झौता नवीकरण गरेको हो। किंग जेम्स भनेर चिनिने लेब्रोन अझै पनि लेकर्ससँग नै छन्। उनी चार वर्षअघि भएको सम्झौताको अन्तिम वर्षमा छन्।
क्लच स्पोर्ट्सका सीईओ रिच पउलका अनुसार जेम्स जुलाई २०१८ मा लेकर्समा अनुबन्धित भएका थिए। नयाँ सम्झौतासँगै यो सिजन घाइते नभएमा ३७१ करोड रूपैयाँ (४६.७ मिलियन डलर) पाउने छन्।
जेम्सले यस सिजनमा एनबीए इतिहासमा करिम अब्दुल जब्बारलाई उछिन्ने अपेक्षा गरिएको छ। उनी अहिले स्कोरको आधारमा दोस्रो स्थानमा छन्।
जेम्स लेकर्सबाट खेल्दा चार सिजनमध्ये तीनका खेलहरूमा अधिकांश घाइते भएका छन्। जेम्स २०१९-२० सिजनमा पूर्ण रूपमा फिट थिए। लेकर्सले त्यस समयमा आफ्नो १७औं एनबीए उपाधि जितेको थियो।
३७ वर्षीय जेम्सको जेठो छोरा ब्रोनी १७ वर्षका छन्। उनी पनि बास्केटबल खेल्छन्। जेम्सले पहिले भनेका थिए, ‘म एनबीएमा आफ्नो छोरासँग एउटै टोलीमा खेल्न चाहन्छु।’ उनका छोरा हाल कलेज स्तरमा बास्केटबल खेल्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।