काठमाडौं– पछिल्ला केही दिनयता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच सामाजिक सञ्जालमा ‘जुहारी’ चलिरहेको छ। सोही विषयमा विभिन्न क्षेत्रका व्यक्तिहरूले टिकाटिप्पणी पनि दिइरहेका छन्।
यसबीच अभिनेता तथा फिल्मकर्मी दीपकराज गिरीले पनि आफ्नो तर्क प्रस्तुत गरेका छन्। उनले लठ्ठी टेक्ने कुरा भएकाले जुधाएरै भाँचेमा के टेक्ने हो? भन्दै कटाक्ष गरेका छन्।
केही समयअघि काठमाडौं आएका धरान उपमहानगरपालिकाका मेयर साम्पाङ काठमाडौं आएपछि थुप्रिएको फोहोरको विषयलाई लिएर प्रश्न उठाएका थिए। गत आइतबारबाट फोहोर उठ्न थालेपछि साम्पाङले आफू काठमाडौं आएकाले फोहोर उठेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए। उक्त विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भने आफूले चुनाव पनि धरान उपमहानगरपालिकाका मेयर साम्पाङकै 'लौरो' पाएकाले जितेको भन्दै प्रतिक्रिया दिएका थिए।
सो घटनापछि धरान उपमहानगरपालिकाका मेयर साम्पाङले निरन्तर सामाजिक सञ्जालबाट काठमाडौं महानगरपालिकाका मेयर शाहमाथि टिप्पणी गरिरहेका छन्। दुई स्वतन्त्र मेयरबीच चलिरहेको जुहारीमा अभिनेता गिरीले टिप्प्णी गरेका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लठ्ठी टेक्ने हो। आपत पर्दा बजाउने पनि हो। लठ्ठी जुधाएरै भाँच्यौ भने के टेक्छौ के बजाउँछौ?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।