काठमाडौं– शक्तिशाली आँधीमा परी मध्य युरोपमा ३ बालबालिकासहित १३ जनाको मृत्यु भएको छ। आँधीकै कारण त्यत्तिकै संख्यामा मानिसहरु घाइते भएका छन्। आँधीले सैयौं घर क्षतिग्रस्त बनाएको छ ।
फ्रान्सको कोर्सीका टापुमा बिहीबार बिहान आएको भीषण आँधी र हुरी बतासका कारण पाँच जनाको मृत्यु हुनुका साथै दर्जनौं मानिस घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । तीन दिनको तीव्र वर्षापछि बिहीबार परेको चट्याङले पाँच जनाको ज्यान गएको कोर्सीकन प्रहरीलाई उल्लेख गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
त्यस्तै, इटालीको टुस्कनी क्षेत्रमा शक्तिशाली हावाहुरी चल्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। दक्षिणी अस्ट्रियामा तीन वयस्क र दुई साना बालबालिकाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।
इटालियन नागरिक सुरक्षा एजेन्सीका अनुसार १०० जनाभन्दा बढी मानिसहरूलाई उद्दार गरी स्कुल र जिम केन्द्रमा आपतकालीन आवासमा राखिएको छ। २२४ किलोमिटर प्रति घण्टाको गतिमा आएको असिना, भारी वर्षा र हावाले दुर्घटना निम्त्याएको फ्रान्सेली अधिकारीहरुले उल्लेख गरेका छन्।
इटालीको लुक्कामा एक पुरुष र कारारामा एक महिला गरी दुवैको रूख ढलेर मृत्यु भएको इटालियन सञ्चारमाध्यमले जनाएका छन् ।
त्यसैगरी, इटालीकै मारिना डि मासाको समुद्री किनार शिविरमा रहेका व्यक्तिको गाडीमा स्थानीय घरको छाना खसेर चार जना घाइते भएका छन् । ती चारै जनालाई बारगा सहरको अस्पतालमा भर्ना गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।