काठमाडौं– गत साता नेपाली सिनेमा हलमा शुक्रबार कुनै पनि फिल्म रिलिज भएका थिएनन्। यो साताको शुक्रबार (आज) भने हलमा तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्।
शुक्रबार कृष्ण जन्माष्टमीको छेको पारेर तीन नेपाली फिल्म प्रदर्शनमा आएका छन्। आजदेखि प्रदर्शनमा आएका फिल्महरुमा ‘कृष्ण लिला’, ‘माइकल अधिकारी’ र ‘प्रेमगञ्ज’ रहेका छन्।
आजदेखि प्रदर्शनमा आएको ‘कृष्ण लिला’ फिल्मलाई दीपक ओलीले निर्देशन गरेका हुन्। आरआर फिल्म्सको प्रस्तुति रहेको यो फिल्मको कथा लक्ष्मण सुवेदीले लेखेका हुन्। फिल्ममा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नविन रेग्मीलगायतका कलाकारको अभिनय रहेको छ। फिल्ममा प्रेम कथासँग सम्बन्धित विषयलाई प्रस्तुत गरिएको छ।
त्यस्तै, शुक्रबारदेखि प्रदर्शनमा आएको सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘माइकल अधिकारी’लाई रञ्जित रौनियारले निर्देशन गरेका हुन्। भारतमा रहेर फिल्म क्षेत्रमा सक्रिय रहेका रौनियारले विभिन्न टेलिभिजन कार्यक्रमहरुलाई निर्देशन गरेको अनुभव छ। नेपाली फिल्ममा भने उनको यो पहिलो फिल्म हो।
‘माइकल अधिकारी’मा सेरोगेसीसँग सम्बन्धित कथालाई प्रस्तुत गरिएको छ। फिल्ममा रौनियारकै कथा रहेको छ। गोपीकृष्ण प्रोडक्सनको प्रस्तुति रहेको फिल्मलाई निरक पौडेलले निर्माण गरेका हुन्। फिल्ममा सौगात र सृष्टि बाहेक आशान्त शर्मा, लोनिभा तुलाधर, एनि कुँवर, हेमन्त बुढाथोकीलगायतका कलाकारको अभिनय रहेको छ।
त्यस्तै, परिच्छेद सेनको डेब्यु निर्देशन रहेको फिल्म ‘प्रेमगञ्ज’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ। । प्रेमकथामा आधारित फिल्ममा बेनिशा हमाल, तेज गिरी, सुप्रिया खनाल, सिम्रन खड्कालगायतका कलाकारको अभिनय रहेको छ। फिल्मको कथा पनि निर्देशन सेनले नै लेखेका हुन्। फिल्म चलचित्र चौतारीको ब्यानरमा निर्माण भएको पहिलो फिल्म हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।