धनगढी– नेपाल कम्युनिष्ट पार्टीसहित चार दलीय मोर्चाले सुदूरपश्चिमका सबै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।
सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत बिहीबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल कम्युनिष्ट पार्टीसँगको तीन बुँदे सहमति कार्यान्वयन गरिनुपर्ने, सम्पूर्ण राजबन्दीलाई रिहाइ गरिनुपर्ने, नेकपा नेता–कार्यकर्तामाथि लगाइएका सम्पूर्ण झुट्टा मुद्दा खारेज गरिनुपर्ने, एमसीसी लगायतका राष्ट्र हितविपरीतका सम्पूर्ण राष्ट्रघाती सम्झौता खारेज गरिनुपर्ने लगायतका माग राखी संघर्षमा उत्रिएको चार दलीय मोर्चाले केन्द्रीय कार्यक्रमअन्तर्गत बिहीबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।
केन्द्रीय कार्यक्रम भाद्र १ गते भएपनि सो दिन सुदूरपश्चिममा प्रदेश सरकारले ओल्के पर्वको बिदा दिएपछि भाद्र २ गते ज्ञापनपत्र बुझाइएको हो।
कैलालीमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य टेकबहादुर शाही, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका दलबहादुर ओखेडा, नेपाल कम्युनिष्ट पार्टीका कैलाली सेक्रेटरी गणेश ढकाल, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका उपाध्यक्ष रंगनाथ ढकाल लगायतको टोलीले ज्ञापनपत्र बुझाउँदै अविलम्ब आफ्ना माग पुरा गर्न आग्रह गरे।
कञ्चनपुरमा नेकपा सेक्रेटरी प्रकाश मल्ल, अछाममा सेक्रेटरी सरिता चलाउने, बाजुरामा नेकपा नेता भरत थापा, बझाङमा सेक्रेटरी वीपी उपाध्याय, दार्चुलामा सेक्रेटरी भरत मल्ल, बैतडीमा सेक्रेटरी रामसिंह कुँवर, डडेल्धुरामा सेक्रेटरी विजय नेतृत्वका टोलिहरूले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको नेकपा केन्द्रीय सदस्य भगतसिंहले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।