बुटवल– सहरी विकास मन्त्री मेटमणि चौधरीले तल्लो तहका कर्मचारीको सम्मान गर्न निर्देशन दिएका छन् ।
संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीद्वारा निर्मित लुम्बिनी प्रादेशिक अस्पतालको प्रसुति कक्ष भवनको हिजो बुटवलमा उद्घाटनपछि बोल्दै मन्त्री चौधरीले उक्त धारणा राखेका हुन् ।
नेपालमा तल्ला तहका कर्मचारीलाई अपमान गर्ने चलन रहेकाले त्यसलाई सुधार्नुपर्ने बताउँदै मन्त्री चौधरीले भने, ‘हाकिम भएँ भन्ने नसोच्नुस् । ठूलो भएँ भन्ने नसोच्नुस् । कुचिकारहरुले काम नगरे के होला ? उनीहरुबिना के अस्पताल सफा हुन सक्ला ? तपाइँँहरुले अल्लि पढ्नुभएको होला । तलब पनि बढी होला तर तपाईहरुलाई चिया खुवाउने, कार्यालय सफा गर्नेहरुलाई अपमान नगर्नुस् । उनीहरुले हेपिएको महसुस नगरुन् ।’ उनले डाक्टर, नर्सहरुले दशैं, तिहार, चाडवाड केही नभनी बिरामीको सेवा गर्ने गरेको भन्दै प्रशंसा गरे ।
मन्त्री चौधरीले बिरामीले दुःख नपाऊन् र समयमै उपचार सेवा पाउने अधिकारलाई आत्मसात गरेर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए ।
नव निर्मित भवनको सहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।