दाङ– दाङमा नदीजन्य पदार्थ दोहोन गर्ने तथा तस्करी रोकिएको छैन । नदी र खोलाबाट रातैभरी खुलेआम ढुङ्गा, गिट्टी, बालुवा ओसारपसार भइरहेका छन् । खुलेआम नदीजन्य पदार्थको दोहन भइरहँदा प्रहरी प्रशासन भने मौन छ ।
दाङ देउखुरीस्थित राप्ती नदी र यस क्षेत्रका खोलाहरुबाट नदीजन्य पदार्थ उत्खनन् भइरहँदा स्थानीय सरकार बेखबर छ । रातिको समयमा राप्ती नदी वारिपारिको क्षेत्रमा अवैध तरिकाले चोरी निकासी हुँदै आएको छ ।
अवैध नदीजन्य पदार्थ पालिकाको कब्जामा
गढवा गाउँपालिका वडा नम्बर-१ जेठानगाउँस्थित लक्ष्मी एग्रिगेट बालुवा प्रशोधन उद्योगको उत्तरतर्फ राप्ती नदीको किनारमा तटबन्ध भन्दा उत्तरतर्फ थुपारेर राखेको ढुङ्गा पालिकाले नियन्त्रणमा लिएको छ । ५६.६ घनमिटर ढुङ्गा नियन्त्रणमा लिएको अध्यक्ष यमनारायण पोख्रेलले जानकारी दिए। ६ हजार २ सय १७.५४ घनमिटर ढुङ्गाको नापजाँच गरिएको छ।
बेवारिसे अवस्थामा थुपारिएको उक्त नदीजन्य पदार्थ कसले थुपारेको भन्नेबारे खुल्न नसकेको अध्यक्ष पोख्रेलले बताए। उनकाअनुसार क्रसर उद्योग नजिक र नदी किनारमा थुपारेर राखेको ढुंगा, बालुवा, मिस्कटलगायतका नदीजन्य पदार्थ पालिकाले नियन्त्रणमा लिएको हो। उक्त नदीजन्य पदार्थ राख्ने व्यक्तीलाई सम्पर्कमा आउन पटक पटक पालिकाले सूचनासमेत दिएको थियो ।
अध्यक्ष पोख्रेलकाअनुसार गढवा गाउँपालिकामा चोरी निकासी नियन्त्रण, क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगहरूको नापजाँच समिति बनेको छ। उक्त समितिले गढवा गाउँपालिकाअन्तर्गत नदी तथा खोलाहरूको किनार र गढवा गाउँपालिकाकाअन्तर्गत सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगको छेउछाउमा अवैधरूपमा संकलन गरी थुपारेर राखेको नदीजन्य पदार्थ उठाइ सुरक्षित स्थानमा राख्ने निर्णय गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।