काठमाडौं– नेपाली यू–१९ क्रिकेट टोलीका बायाँहाते ‘अर्थोडक्स’ स्पिनर थिए सुशील कँडेल। २०७२ मा मलेसियामा सम्पन्न एसीसी यू–१९ प्रिमियर लिग क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ४ खेलमा ११ विकेट लिए उनले। नवलपरासीका सुशीलले सोही प्रतियोगितामा साउदी अरेबियाविरुद्धको अन्तिम खेलमा १० मा ९ ओभर मेडन फ्याँकेर यू–१९ क्रिकेटमा कीर्तिमान नै राखे।
चितवनका प्रशिक्षक राजु खड्काले तिखारेका सुशीलले त्यतिखेर कीर्तिमान बन्छ भन्ने कल्पना नै गरेका थिएनन्। भन्थे, ‘मैले कल्पना पनि गरेको थिइनँ। आफ्नो काममा लागिरहेको थिएँ। रेकर्ड बन्न पुग्यो।’
करिब ४ वर्ष अघिसम्म पनि उमेर समूहमा मात्रै होइन घरेलु प्रतियोगितामा पनि उत्तिकै छाए सुशील। धनगढी प्रिमियर लिग (डीपीएल)को पहिलो संस्करणमा त उनी सर्वोत्कृष्ट खेलाडी नै बने। लगत्तै भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल)को पहिलो संस्करणमा पनि उनले सबैभन्दा बढी विकेट लिँदै आफ्नो टोली पञ्चकन्या तेजलाई च्याम्पियन बनाए।
लगत्तै उनले सन् २०१७ को अक्टोम्बरमा विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्धको खेलका लागि सिनियर राष्ट्रिय टोलीमा समेत स्थान बनाए। तर ‘डेब्यू’ भने गर्न पाएनन्। एक समय नेपाली क्रिकेटको भविष्यका रुपमा हेरिएका यी स्पिनर एक्कासी सन् २०१८ मा जापान उडे। करिअरको उचाइमा रहेका बेला क्रिकेट त्याग्दै विदेशिने निर्णय लिएका सुशील भन्छन्, ‘जीवनमा कुनै पनि बेला विदेश जान्नँ, देशकै लागि केही गर्छु भन्ने सोचेको थिएँ। तर, विदेशिने रहरभन्दा पनि बाध्यता बन्यो।’
बाध्यता कै कारण पलायन हुने सुशील त एक प्रतिनिधि पात्र मात्रै हुन्। उनीजस्तै नरेश बुढाऐर, अमृत भट्टराई, सुनम गौतमजस्ता दर्जनौं खेलाडी क्रिकेटमा सम्भावना नदेखेर विदेशिएका छन्। उनीहरु प्रायको एकै गुनासो छ– नेपालमा खेलेर पेट पाल्न सकिन्न।
कति सुध्रियो अवस्था?
करिब ४ वर्षअघि इन्डियन प्रिमियर लिग (आईपीएल) को दशौं संस्करणमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने छनोट हुँदा क्रिकेट वृतमा ठूलै तरंग पैदा भएको थियो।
अस्ट्रेलियाका चर्चित अलराउन्डर ग्लेन मेक्सवेल र डानियल क्रिस्चियन, दक्षिण अफ्रिकाका खतरनाक तीव्रगतिका बलर कागिसो राबाडा र अलराउन्डर क्रिस मोरिस, न्यूजिल्यान्डका तीव्रगतिका बलर ट्रेन्ट बोल्ट र ब्याट्सम्यान कोलिन मुनरो तथा इङ्गल्यान्डका लियाम प्लङ्केट लगायतलाई भित्र्याउन महँगो मूल्य तिरेको दिल्ली क्यापिटल्स (तत्कालीन दिल्ली डेयर डेभिल्स)का निम्ति नेपाली लेग स्पिनर सन्दीपलाई किन्नु आफैंमा ठूलो चुनौती थियो।
दिल्लीको टिममा भारतीय टेस्ट टोलीका अनुभवी लेग स्पिनर अमित मिश्रा पहिलेदेखि थिए, जसले अघिल्ला संस्करणहरूमा तीन पल्ट ‘ह्याट्रिक’ गर्दै आईपीएलमा आफ्नो विशेषज्ञता सावित गरिसकेका थिए।
यस्तो अवस्थामा दिल्लीले एसोसिएट राष्ट्रको १७ वर्षे किशोरमाथि ‘जुवा’ खेलेको थियो। ‘अक्सन’मार्फत् सन्दीपलाई दिल्लीले २० लाख भारुमा सकार्दा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाइसकेको थिएन।
तर सन्दीपले दिल्लीको भरोसा मर्न दिएनन्। क्रिकेट दुनियाँका नामुद खेलाडीको छायामा परेर सुरुआती ११ खेलमा मौका नपाएका सन्दीपलाई दिल्लीले ‘प्लेअफ’ बाट बाहिरिएपछि अन्तिम तीन खेलमा लगातार मौका दियो। यी तीनै खेलमा उनले जुन स्तरको बलिङ गरे, त्यसबाट विश्व क्रिकेट नै कायल बन्यो।
आईपीएलमा सन्दीपको सफलतापछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा नेपाली क्रिकेटको चर्चा चुलियो। सन्दीपले मात्रै होइन, नेपालका अरु खेलाडीले पनि विदेशी प्रतियोगितामा भाग लिने बाटो खुलिएको भन्दै उत्सव मनाइन्थ्यो। तर, ३ सिजन दिल्लीबाट आईपीएल खेलेका सन्दीपले विश्वका सबै फ्रेन्चाइजी लिग खेलेर भ्याउँदा अन्य नेपाली खेलाडीले भने अपेक्षा गरेअनुसार मौका पाउन सकेनन्।
हुन त सन्दीपभन्दा पहिले पनि धेरै खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो प्रतिभा देखाइसकेका थिए। सन् २००३ मा भारतको मुम्बईस्थित क्रिकेट क्लब अफ इन्डिया (सीसीए) मा विश्वचर्चित प्रशिक्षकहरूसँग तीन महिना प्रशिक्षण लिँदा भेट्रान लेग स्पिनर राजकुमार प्रधानले सबैलाई आश्चर्यचकित पारे।
अस्ट्रेलियाका प्रशिक्षक स्वर्गीय बब सिम्पसन, भारतका पूर्व विकेटकिपर किरण मोरे, नारी कन्ट्रेक्टर, हनुमन्त सिंह सहभागी प्रशिक्षणमा राजकुमारको बलिङ हेरेपछि मोरेले भनेका थिए, ‘यो बलर भारतमा जन्मेको भए उहिल्यै टेस्ट टिममा परिसक्थ्यो।’
राजकुमारसँगै त्यो प्रशिक्षणमा सहभागी अफ स्पिनर सञ्जम रेग्मी भन्थे,‘राजकुमार दाइको बलिङबाट सिम्सन यति प्रभावित थिए कि उनले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का पूर्वअध्यक्ष राजसिंह डुंगरपुरलाई फोन गरेर बलिङ हेर्न बोलाएका थिए।’ रणजी ट्रफी खेल्ने मुम्बई टिमका कप्तान शिशिर हत्कण्डीले त राजकुमारलाई मुम्बईमा बसेर क्रिकेट खेल्ने सल्लाह नै दिएका थिए।
राजकुमारलाई अस्ट्रेलियाली टिमले सन् २००४ मा भारत भ्रमण गर्दा ‘नेट–प्राक्टिस’ का लागि बोलाइएको थियो। सन् २००५ मा अस्ट्रेलियाको न्यू साउथ वेल्समा व्यावसायिक क्रिकेट खेल्ने फिजीका तत्कालीन कप्तान वाइसेक टुकाहाले पनि राजकुमारलाई अस्ट्रेलियामा व्यावसायिक क्रिकेट खेल्न निम्तो गरेका थिए।
२००५ को ‘आईसीसी क्रिकेट वर्ल्डकप क्वालिफाइङ सिरिज डिभिजन–२’ मा फिजीविरुद्ध राजकुमारले १० ओभरमा १७ रन मात्र खर्चेपछि टुकाहा उनको बलिङको ‘फ्यान’ भएका थिए। तर अस्ट्रेलियाबाट आवश्यक कागजपत्र आउँदा पनि क्यानले उनलाई विदेशमा खेल्ने अनुमति दिएन। कमजोर आर्थिक पृष्ठभूमिले गर्दा खेलाडी जीवन छाडेर वैदेशिक रोजगारका लागि दुईपल्ट कतार पुगेका राजकुमार जापान समेत पुगे। अहिले उनी नेपाल फर्किएका छन्। राजकुमार विगतमा भन्दा अहिले क्रिकेटको स्थिति सुधार भएको बताउँछन्।
‘पहिला हामीलाई देशको लागि खेल्नुपर्छ भन्ने थियो, पैसाको त कुरै उठ्दैन थियो। तर, परिवारमा कमाउनुपर्छ भन्ने प्रेसर दिइन्थ्यो। त्यसैले हामीले पेट पाल्न विदेश रोज्यौं। तर, अहिले त्यस्तो अवस्था छैन। खेल्न सक्ने क्रिकेटर (सन्दीप)जस्ता खेलाडीले लाखौं कमाइरहेका छन्। क्यान सुध्रिने हो भने पेट पाल्न समस्या छैन,’ उनी भन्छन्।
पुरस्कारमा सरकारको प्राथमिकता
पछिल्लो समयमा ठूलो फड्को मारेको क्रिकेटलाई सरकारले पनि उच्च प्राथमिकतामा राखेको छ। युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गरेर क्रिकेटको पुरस्कारलाई संस्थागत मात्र गरेको छैन, रकममा उल्लेख्य वृद्धि समेत गरेको छ। गत बिहीबार मन्त्रिपरिषद्ले पास गरेको यो कार्यविधिअनुसार १३ प्रकारका प्रतियोगितामा पदक तथा उपाधि जितेमा क्रिकेट खेलाडीलाई पुरस्कार दिने व्यवस्था गरिएको छ।
खेलकुद पुरस्कार तथा सम्मान कार्यविधिअनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकपको उपाधि जितेमा क्रिकेट टिमका खेलाडीले जनही ३२ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउँछन्।
स्वर्ण जित्ने खेलाडीले जनही २६ लाख पुरस्कार पाउनेछन् भने कास्य जित्नेले १९ लाख ५० हजार रुपैयाँ नगद पाउनेछन्। यता, महादेशीय क्रिकेट प्रतियोगिता वा डिभिजन एकबाट विश्वकपमा छनोट भएमा खेलाडीले जनही १९ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। रजत जिते १३ लाख र कास्य जिते ९ लाख १० हजार जनही पुरस्कार पाउने व्यवस्था कार्यविधिमा छ।
डिभिजन टुबाट वानमा पुग्दा स्वर्ण जितेमा खेलाडीले जनही ६ लाख ५० हजार र दोस्रो भएमा जनही ३ लाख ९० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। यता, विश्व क्रिकेट लिग डिभिजन थ्रीबाट टूमा उक्लँदा स्वर्ण जितेमा खेलाडीले जनही २ लाख ६० हजार रुपैयाँ पाउनेछन्।
उमेर समूहको विश्वकपमा स्वर्ण जिते खेलाडीले जनही १६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने एसियन कपको स्वर्ण जनही १० लाख पुरस्कार पाउनेछन्। क्षेत्रीय एसियाली खेलकुदमा स्वर्ण जिते ५ लाख, रजत जितेमा ३ लाख र कांस्य जितेमा १ लाख ५० हजार रुपैयाँ पुरस्कार निर्धारण गरिएको छ।
एशियाली क्षेत्रीय स्तरको उमेर समूहको प्रतियोगितामा स्वर्ण जितेमा टोलीका खेलाडीले जनही ३ लाख र रजत जितेमा १ लाख ८० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। उमेर समूहको एसियाली प्रतियोगितामा स्वर्ण जितेमा जनही ८ लाख, रजत जितेमा ४ लाख ८० हजार र कांस्य जितेमा २ लाख ४० हजार रुपैयाँ पुरस्कार दिइने व्यवस्था छ।
दुई देशबीचको एकदिवशीय अन्तर्राष्ट्रिय तथा टी–२० अन्तर्राष्ट्रिय सिरिज जितेमा खेलाडीलाई जनही १ लाख, प्रशिक्षकलाई ७५ हजार पुरस्कार दिइने कार्यविधिमा उल्लेख छ। ३ वा त्यसभन्दा बढी टोली सम्मिलित एकदिवशीय अन्तर्राष्ट्रिय वा टी–२० अन्तर्राष्ट्रिय सिरिज जितेमा टोलीका सबै खेलाडीले जनही २ लाख रुपैयाँ दिइनेछ।
खेलाडीको स्तर उकास्न नै आफ्नै फ्रेन्चाइजी लिग: क्यान अध्यक्ष चतुरबहादुर चन्द
नेपाली क्रिकेट खेलाडीले बेलाबेलामा अनअफिसियल क्रिकेट प्रतियोगिता खेलेर पैसा पाएन भन्ने गुनासो गर्दै आएका छन्। यस्तो घटना नदोहोरियोस् भनेर हामीले आफ्नै आधिकारिक फ्रेन्चाइजी लिग नेपाल टी–२० लिग लिएर आएका छौं।
नेपाली खेलाडीको भविष्य निर्धारण गर्ने र दर्जनौं खेलाडीलाई आर्थिक हैसियत उकास्न नेपाल टी–२० लिग गर्न लागेका हौं। दुई वर्षको प्रयासपछि हामी यो प्रतियोगिताको घोषणा गरेका हौं। नेपाल टी–२० लिगले नेपालमा क्रिकेट विकासमात्र होइन क्यान पनि आर्थिक रूपमा बलियो हुनेछ। यो नेपाली खेलाडीको टेक्ने आधार बन्ने छ। व्यावसायिक र पर्यटकीय हिसाबमा पनि फड्को मार्ने छ।
यस प्रतियोगिताको अक्सन र त्यसको मोडालिटीबारे हाल तय नभए पनि खेलाडीले नेपाल टी–२० लिग खेलेर पाउने पारिश्रमिक तय भइसकेको छ। त्यसअनुसार प्रतियोगिता खेल्ने नेपाली खेलाडीलाई समूह ‘ए’, ‘बी’ र ‘सी’ समूहमा वर्गीकरण गरिने छ।
समूह ‘ए’ का खेलाडीले न्यूनतम १५ लाख, समूह ‘बी’ का खेलाडीले न्यूनतम १० र समूह ‘सी’ का खेलाडीले न्युनतम ५ लाख रुपैयाँ पाउने छन्। धनगढीमा सम्पन्न अघिल्लो साधारणसभामा नेपाल टी–२० लिग खेलेर न्यूनतम ५ लाख पाउने घोषणा मैले नै गरेको हुँ। त्यहीअनुरुप आयोजक सेभेन थ्री स्पोर्टससँग खेलाडीको पारिश्रमिकका लागि वर्गीकरण गरिएको छ।
यो श्रङ्खलाका अन्य सामग्रीहरु:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।