काठमाडौं– भन्सार विभागले करिब २३ वर्षपछि नयाँ भन्सार एजेन्ट पाएको छ। पछिल्लो टपटक ६६० जना भन्सार एजेन्टको इजाजतका लागि छनोट भएका छन्। लोक सेवा आयोगको परीक्षाको माध्यमद्वारा उनीहरू भन्सार एजेन्टका रूफमा छानिएका हुन्।
यसअघि भन्सार विभागले २०५६ सालमा परीक्षा प्रक्रियाबाट छनोट गरी ५८३ जनालाई भन्सार एजेन्ट प्रमाणपत्र दिएको थियो । त्यो संख्या अहिले घट्दै गएर १७० मा सीमित भएको छ ।
यसअघि पटक-पटक स्थगित हुँदै आएको भन्सार एजेन्टको परीक्षा गत वैशाख १७ गते भएको थियो। निर्वाचन आयोगले परीक्षाफल निर्वाचन आचार संहिता लागू हुने समय सकिएपछि प्रकाशित गर्ने गरी परीक्षा गर्न सहमति दिएपछि वैशाख १७ गते भएको थियो।
अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभाग त्रिपुरेश्वर भन्सार एजेन्टको इजाजतपत्रका लागि विभागले २०७७ चैत १६ मै दरखास्त आह्वान गरेको थियो। सुरूमा कोरोना र पछि विभिन्न कारण देखाउँदै परीक्षा स्थगित भइरहेको थियो।
लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि ८६० जना छनोट भएका थिए। नयाँ एजेन्ट छनोट प्रक्रिया विवादित भएर अदालतमा मुद्दा समेत परेको थियो।
अब छनोट भएका भन्सार एजेन्टले भन्सारमा पैठारी तथा निकासी हुने मालवस्तुको पैठारी तथा निकासीकर्ताको तर्फबाट मालवस्तुको घोषणा गर्न सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।