काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाग्लुङ, काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकसहित अन्य कर्मचारी, उपभोक्ता समितिका पदाधिकारीविरुद्ध एकैदिन दुई थान मुद्दा दायर गरेको छ।
अख्तियारले उनीहरुविरुद्ध ७ लाख बराबरको विगो दावी गर्दै अलग–अलग दुईवटा मुद्दा दायर गरेको हो। पहिलो मुद्दामा अख्तियारले प्रमुख प्रशासकीय अधिकृत विकसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
काठेखोला गाउँपालिकास्थित नालढुङ्गा (घुँडेखोला) खानेपानी योजनामा नापी किताब अनुसारको पाइप प्रयोग नगरेको, एक्लेखेतघाट ह्यूमपाईप आयोजनामा कमसल सामग्री प्रयोग गरी अनियमितता गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
आयोगले उक्त अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विक, तत्कालीन सब–इञ्जिनियर नवीन थापा र असिस्टेन्ट सव–इञ्जिनियर सनोज उपाध्यायविरुद्ध मुद्दा दायर गरेको हो।
अख्तियारले नगरेको कार्यकोसमेत झुट्टा बिल भरपाई बनाई २ लाख ३९ हजार २ सय ८४ रुपैयाँ नोक्सान पु¥याएको दावीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
साथै, उपभोक्ता समितिका अध्यक्ष अम्मरबहादुर गुरुङ, सचिव चेलीमाया थापा र कोषाध्यक्ष गगन बहादुर कार्कीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद , विगो र विगो अनुसार जरिवाना गर्न पनि माग गरेको छ। बाग्लुङका प्रशासकीय अधिकृतसहित ६ जना विरुद्ध अर्को मुद्दा दायर भएको छ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विक, तत्कालीन सव–इञ्जिनियर नवीनकुमार दास र असिस्टेन्ट सव–इञ्जिनियर सनोज उपाध्यायविरुद्ध ४ लाख ९० हजार २ सय २७ रुपैयाँ विगो दावी गर्दै मुद्दा दायर गरेको हो।
सम्झौतामा उल्लेख भएबमोजिम सुपरीवेक्षण गर्न, गुणस्तर कायम गर्न र यथार्थ कार्यको नापजाँचको लागि सम्बन्धित साइट प्राविधिकलाई जिम्मेवारी नतोकी नापी कितावमा सही गरी भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।
उपभोक्ता समितिका अध्यक्ष रन बहादुर थापा, सचिव टेक नारायण पुन र कोषाध्यक्ष पार्वती थापाविरुद्ध पनि अभियोग दायर गरेको छ। अख्तियारले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवाना पनि माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।