काठमाडौं– सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहले अब लेखापरीक्षण गर्दा जोखिममा आधारित कारोबारको मात्रै लेखापरीक्षण गर्नुपर्ने बताएका छन्।
बुधबार महालेखापरीक्षक कार्यालयको ७४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै सभापति शाहले अन्तर्राष्ट्रिय अभ्यास जोखिममा आधारित लेखा परीक्षण हुने भएकाले नेपालमा पनि जोखिममा आधारित कारोबारको मात्रै लेखापरीक्षण गर्नुपर्ने बताएका हुन्।
उनले महालेखा परीक्षकको ठूलो जिम्मेवारी भएकाले ऐन कानून परिर्वतन गर्नुपर्ने आवश्यकता औंल्याए। लेखापरीक्षक कार्यालयले ६ हजारदेखि १० हजार युनिटको लेखा परीक्षण गर्ने गरेको भन्दै अब जोखिममा आधारित लेखा परीक्षण गर्नुपर्ने उनको भनाइ छ।
उनले अमेरिकामा ५ सय तथा भारतमा ७ सय युनिटको मात्रै लेखा परीक्षण गर्ने गरेको बताए। सभापति शाहले अब लेखापरीक्षक कार्यालयले अर्बौंका ठेक्का र खर्बाैं कारोबार भएर बढी जोखिम भएका तथा बढी भ्रष्टाचार हुने युनिटहरुमा मात्रै लेखापरीक्षण गर्नुपर्ने धारणा राखे।
लेखा परीक्षणमा २० वर्षदेखिको कम्प्युटर, ल्यापटप दिनुपर्ने देखाएर बेरुजु देखाउनु जरुरी नभएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।