काठमाडौं– कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले अन्तर्राष्ट्रिय बजारमा मृल्यवृद्धि भएका कारण ठेकेदारले मल ल्याउन नसकेको बताएका छन्।
बुधबार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित ‘१९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९’ कार्यक्रममा बोल्दै मन्त्री यादवले मलको ठेक्का लिएका ठेकेदारले मल ल्याउन नसकेका कारण ठेक्का रद्द गर्नुपर्ने अवस्था आएको बताए।
उनले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यवृद्धि भएका कारण सरकारले ठेक्का लगाउँदा पनि ठेकेदारहरु नआउने समस्या भएको जानकारी दिए।
उनले ठेकेदारले समयमा कहिल्यै मल ल्याउन नसकेको भन्दै निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने? भन्ने विषयमा पनि छलफल भइरहेको बताए। मन्त्री यादवले पुरानो ऐन, कानूनले चाँडै मल उपलब्ध हुने स्थिति नरहेको पनि उल्लेख गरे।
उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको छ र त्यो मूल्यवृद्धि गर्दाखेरी यस मन्त्रालयबाट मंसिर, फागुन महिनामा दुई लाख मेट्रिक टन मलको ठेक्का ठेकेदारले लिइसकेका थिए। मूल्यवृछि हुँदाखेरी दुई लाख मेट्रिक टन ल्याउनसक्ने अवस्था रहेन र त्यो ठेक्का रद्द गर्नुपर्ने भयो।’
उनले धानको उत्पादन बढाउनका लागि यान्त्रिकरण, बजारीकरण, भण्डारण र किसानको लागत मूल्यको निर्धारण गर्नु आवश्यक रहेको बताए।
मन्त्री यादवले प्रत्येक पालिकाहरुमा एक जना कृषिमा स्नातक अध्ययन गरेकालाई राख्नसकेन किसानको खेती प्रणालीलाई परिवर्तन गर्न सकिने बताए। यसका लागि स्थानीय तहले पहल गर्नुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।