काठमाडौं– लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु शंकास्पद देखिएको छ। काठमाडौंको नेपालटारस्थित आफ्नै डेरामा मृत भेटिएकी सुनारको अनुसन्धानमा खटिएको प्रहरी टोलीले मृत्यु शंकास्पद देखिएको जनाएको छ।
सुनारको मत्यु भएको सूचना पाएलगत्तै अनुसन्धानमा खटिएको प्रहरी टोलीले विभिन्न पाटोहरुबाट घटनाको अनुसन्धान गरिरहेको छ। तर, अहिलेसम्मको अनुसन्धानले उनको मृत्यु शंकास्पद देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले जानकारी दिए।
अघिल्लो दिन सामाजिक सञ्जाल फेसबुकमा ‘सुसाइड नोट’ लेख्नु र भोलिपल्ट आफ्नै कोठामा मृत भेटिँदा पनि मोबाइल नभेटिनुले घटना शंकास्पद देखिएको अनुसन्धान अधिकारीको विश्लेषण छ ।
अनुसन्धानको क्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । पक्राउ परेका सूर्य श्रेष्ठबाट अहिलेसम्म कुनै नयाँ तथ्य खुल्न सकेको छैन। प्रहरीका अनुसार सूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेका थिए।
सुर्खेत घर भएकी दिलमाया नेपालटारमा डेरामा बस्दै आएकी थिइन्। शुक्रबार राति आफूलाई बाँच्न मुश्किल भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेकी सुनार शनिबार बिहान पौने ११ बजे मृत भेटिएकी थिइन्।
हालै राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।