काठमाडौं– लोकदोहोरी गायिका दिलमाया सुनार मृत भेटिएकी छन्। काठमाडौंको नेपालटारस्थित आफ्नै डेरामा उनी मृत भेटिएको प्रहरीले जनाएको छ।
सुर्खेत घर भएकी दिलमाया नेपालटारमा डेरामा बस्दै आएकी थिइन्। शुक्रबार राति आफूलाई बाँच्न मुश्किल भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेकी सुनार शनिबार बिहान पौने ११ बजे मृत भेटिएको प्रहरी वृत्त बालाजुले जनाएको छ।
घटना शंकास्पद भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सूर्य श्रेष्ठ रहेका छन्। प्रहरीका अनुसार सूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेका थिए।
गायिका दिलमायाले ख्यातिप्राप्त लोकगायक राजु परियारसँग मिलेर केही चर्चित गीत गाएकी छन् भने उनी लाइभ दोहोरी गीतका कारण पनि चर्चित थिइन् ।
यसअघि, राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।