काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जितपुर सिमरा उप–महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले सवा ५ करोड रुपैयाँ बिगो र कैद माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो। उपमहानगरपालिका अन्तर्गत पर्ने पसाहा र बालगंगा खोलाबाट नदीजन्य वस्तु उत्खनन, संकलन तथा बिक्रीवापतको रकम हिनामिना गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाई तथा ठेकेदारहरू ओमशंकर प्रसाद र मिराकुमारी श्रेष्ठविरुद्ध मुद्दा दायर भएको हो।
अख्तियारले उनीहरुविरुद्ध ५ करोड २६ लाख ६ सय ८७ रुपैयाँ बिगो, बिगो बमोजिम जरिवाना र कैद सजाय मागदावी गरेको छ।
बाराका दुईवटा खोलाबाट नदीजन्य वस्तु उत्खनन गर्दा कायम गरिएको रकम र त्यसवापतको मूल्यअभिवृद्धि कर हिनामिना गरेको आरोपपत्रमा उल्लेख छ।
आर्थिक वर्ष २०७८/७७ मा प्रमुख प्रशासकीय अधिकृत सेढाईले उपमहानगरपालिकाभित्र पर्ने पसाहा खोलाको नदीजन्य सामग्री उत्खनन जिम्मा ओमशंकर प्रसादको ओम सप्लायर्स दिएका थिए।
तर, सप्लायर्सले सम्झौता अनुसार काम नगरी उत्खनन, संकलन र बिक्री गरेर राजश्व हिनामिना गरेको अख्तियारको आरोपपत्रमा दावी गरिएको छ।
उत्खनन सम्झौता गर्दा दुई किस्ताको हुन आउने रकम ठेकेदार कम्पनीबाट कार्यसम्पादन जमानत लिनुपर्नेमा सेढाईकै मिलेमतोमा नलिई हालसम्म पनि ९९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ राजश्वमा दाखिला नभएको पाइएको छ।
सोही प्रकरणमा ओम सप्लायर्सका सञ्चालक ओमशंकरविरुद्ध राजश्व दाखिला गर्न बाँकी ९९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ र त्यसवापतको मूल्य अभिवृद्धि करमा हुन आउने ३८ लाख ९९ हजार ९ सय ९८ रुपैयाँ गरी १ करोड ३८ लाख ९९ हजार ९ सय ९८ रुपैयाँ बिगो कायम गरी बिगो बमोजिम जरिवाना माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।