फाइल तस्बिर।
काठमाडौं– अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे संसदीय समितिले आज शुक्रबार परराष्ट्रमन्त्री र प्रधानसेनापतिसँग छलफल गर्दैछ ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको छ।
केपी शर्मा ओली सरकारको पालामा नेपाली सेनाले पत्र पठाएको विषयमा सार्वजनिक भएपछि त्यसबारे छलफल गर्न समितिले प्रधानसेनापतिलाई बोलाएको हो।
समितिको बैठक शुक्रबार बिहान ९ बजे बस्ने जनाइएको छ। समितिले परराष्ट्र सचिव भरतराज पौडेल र रक्षा सचिव किरणराज शर्मालाई पनि बोलाएको छ।
नेपाली सेनाले एसपीपीमा सहभागी हुन अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि संसदीय समितिले प्रधानसेनापतिलाई छलफलमा बोलाएको हो। बुधबार मात्र सेनाले कुनै पत्राचार नभएको, एसपीपीमा सेना सहभागी नभएको र आउँदा दिनमा पनि नहुने बताएको थियो। तर, त्यसको भोलिपल्टै तत्कालनी प्रधानसेनापतिले पठाएको पत्र सार्वजनिक भएको थियो।
सेनाले उक्त पत्र पठाएको बारे स्वीकार गरेको छ। उसले सरकारको अनुमतिले नै पत्राचार गरेको जनाएको छ।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले सन् २०१५ को महाभूकम्पका बेला सरकारसँग स्वीकृति लिएरै अमेरिकी सेनालाई पत्र लेखेको स्पष्ट पारेका छन्। तर, त्यो कुनै गठबन्धनमा सहभागी हुन स्वीकार गरेर नलेखिएको उनको स्पष्टोक्ति छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।